सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाले सुदूरपश्चिममा बेमौसमी तरकारीको उत्पादन घट्यो, मूल्य बढ्यो

२०७९ असोज २९, ०३:५७ नारायण अवस्थी

धनगढी: गत हप्ता परेको लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशमा बेमौसमी तरकारीको उत्पादन ह्वात्तै घटेको छ। असोज २१ गतेदेखि निरन्तर ६ दिन परेको पानीले प्रदेशको पहाडी र तराईं क्षेत्रमा बेमौसमी तरकारीको उत्पादन घटेको हो। 

पानीले तरकारी उत्पादन घटेसँगै बजारमा तरकारीको मूल्य भने आकाशिएको छ। केही दिनदेखि बजारमा तरकारीको मूल्य निकै बढेको धनगढीका विनोद जोशीले बताए। ‘केही दिनदेखि तरकारीको मुल्य धेरै बढेको छ,’ उनले भने, ‘तरकारीको मूल्य दोब्बरले बढेको छ। एक किलो किन्दा दुई किलो तरकारी किन्ने पैसा खर्च गर्नुपर्ने अवस्था छ।’

किसानको खेतबारीमा जमेको पानीका कारण तरकारी बालीमा क्षति भएको किसानले बताएका छन्। उत्पादन हुन लागेको तरकारीसहित बेर्नामा पनि क्षति पुग्दा तत्काल बजारमा तरकारीको अभाव देखिएको छ। जसका कारण उपभोक्ताले महंगोमा तरकारी किन्नुपर्ने अवस्था आएको छ। 

बजारमा तरकारीको मूल्य छोइ नसक्नु रहेको धनगढीकी प्रिया रावलले बताइन्। ‘बजारमा तरकारी किन्न नसकिने गरि महंगो भएको छ। विहान साँझ तरकारी कसरी खाने भनेर चिन्ता लाग्न थालेको छ,’ उनले भनिन्, ‘यो पानीले तरकारी खान नसकिने बनायो।’

उत्पादन हुन लागेको तरकारीमा पनि फूल झर्ने, पात सुक्ने र पूरै बिरुवा मर्दा तरकारी उत्पादन प्रभावित भएको कृषि निर्देशक यज्ञराज जोशीले बताए। ‘यो वर्ष पानीले रायो, मुला, खुर्सानी र लहरे तरकारीमा पानीले नोक्सानी पु¥याएको छ,’ उनले भने, ‘तरकारीको बेर्नामा बढी क्षति भएको छ भने फल्न थालेको तरकारी पनि पानीका कारण बोट मर्दा किसान मार्कामा परेका छन्।’

निरन्तरको वर्षाले वेर्नामा क्षति पुग्दा तुरुन्तै तरकारी उत्पादन हुने सम्भावना कम छ। बेमौसमी उत्पादनमा समस्या देखिए पनि मौसमी उत्पादन भने गत हप्ताको पानीका कारण प्रभावित नहुने बताइएको छ। अबको १५ दिनपछि तरकारी लगाउन खेत तयार हुने र तबसम्म किसानहरूले  वेर्ना उत्पादन र तरकारी खेतीका लागि अन्य तयारी गर्न सक्ने  कृषि निर्देशक जोशीले बताए।

‘मौसमी तरकारीलाई अहिलेको पानीले समस्या गर्दैन। अबको १५ दिनपछि हिउँदे तरकारी लगाउन हुन्छ,’ उनले भने,  ‘अहिले धान खेतमा जमेको पानी निकास गर्ने, वेर्ना तयार गर्ने जस्ता काम किसानले गर्न सक्छन्, हिउँदे तरकारीलाई यो पानीले समस्या गर्दैन।’

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस