सुदूरपश्चिममा लगातार वर्षा, किसानलाई उत्पादन घट्ने पिरलो
धनगढीः सुदूरपश्चिम प्रदेशभर बुधबारदेखि मनसुनी वर्षा भइरहेको छ। धान लगाएर वर्षे बाली भित्र्याउने समयमा भएको वर्षाले किसान भने चिन्तित भएका छन्। किसानहरू धान लगायत दलहन बाली बिग्रने चिन्तामा छन्। भने तरकारी र फलफूल खेतीलाई पनि अहिलेको पानीले राम्रो नगर्ने भन्दै व्यवसायीक खेती गर्दै आएका किसानले चिन्ता व्यक्त गरेका छन्।
गत वर्ष कार्तिक पहिलो साता परेको झरीले नोक्सानी व्यहोरेका किसान यो वर्ष पनि अन्नबाली भित्र्याउन नपाइने हो कि ? भन्दै चिन्तित हुन थालेका छन्। गत वर्षको बेमौसमी पानीले सुदूरपश्चिम प्रदेशमा ७ अर्ब बराबरको धानमा क्षती पुगेको थियो। भने यो वर्ष पनि बाढीको चपेटामा धान बाली पर्छ कि ? भन्दै किसान चिन्तित हुन थालेका हुन्। कैलालीको टीकापुरका किसान रामकिसन चौधरीले पोहोर जस्तै यो वर्ष पनि धान बालीमा क्षति हुने भन्दै चिन्ता गरेका छन्।
‘पोहर साल पानीले धानमा पूरै क्षति गरेको थियो’, उनले भने, ‘यो वर्ष पनि लगातार पानी परिरहेको छ, पानीसँगै हावा पनि आएर धान ढले कुहिने खतरा हुन्छ।’ धान खेतीमा मात्रै नभएर पुष्प, फलफूल तथा तरकारी खेतीमा पनि अत्यधिक पानीले क्षती गर्ने किसानले बताएका छन्। केरा खेती गर्ने किसानले लगातारको पानीले ठूलो नोक्सानी हुने बताएका छन्।
पानी अत्यधिक पर्दा फलेको केरा ढल्ने, बारीमा पानी ४८ घण्टाभन्दा बढे जमे केराको जरा कुहिने रोग लाग्ने, बिरुवामा फल सानो लाग्ने जस्ता समस्या निम्तिने र उत्पादन घट्ने केरा किसान संघ कैलालीका अध्यक्ष दिपेन्द्र थारुले बताए। ‘अत्यधिक पानीले केरा खेतीमा पनि असर पर्छ’, उनले भने, ‘यो पानीले कुनै पनि बालीमा सहयोग गर्दैन।’ पुष्प खेतीमा अहिलेसम्मको पानीले क्षति नगरे पनि अझै तीन चार दिन घाम नलागेर पानी परे फूल नफूल्ने र बोट सुक्ने जोखिम रहेको फूल उत्पादक किसानले बताएका छन्। तिहार नजिकिदै गरेको तर पानीले त्यतिबेलासम्म फूल तयार नहुने टीकापुरका पुष्प व्यवसायी सिताराम चौधरीको चिन्ता छ।
अत्यधिक पानीले तरकारी खेतीमा सबैभन्दा बढी क्षती भएको तरकारी उत्पादक किसानको भनाइ छ। वेर्ना राख्ने र बोट सार्ने समयमा परेको पानीले वेर्ना र बोट नष्ट हुँदा आफ्नो ३ लाखको क्षती भएको धनगढीका तरकारी उत्पादक किसान रामकिसुन चौधरीले बताए। ‘मैले वेर्ना उमार्न पचास हजारको बिउ राखेको थिए, जसमध्ये थोरै बिरुवा मात्रै बेच्न सके’, उनले भने, ‘पानी अत्यधिक पर्दा ३ लाख बढीको बेर्ना मात्रै नष्ट भएको छ।’
यता प्रदेश सरकारले भने अझै केही दिन प्रदेशभर पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। खेतीपाती र धनजनको नोक्सानी नहोस् भनेर सरकारी संयन्त्र परिचालन गतेको तथा खेतीपातीमा नोक्सानी हुने किसानलाई कृषि बिमाको दायरामा ल्याउने प्रयासको थालनी यो वर्षबाटै भएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले बताए।
‘हामीले किसानले बालीमा क्षति भयो भने त्यसको पूर्ति बिमाबाट गर्ने कामको थालनी गरिसकेका छौँ’, उनले भने, ‘कृषि बिमा गरेर विपदबाट हुने क्षतिलाई कम गर्न सरकारले आगामी दिनमा जोखिममा रहेका क्षेत्रमा बिमा कार्यक्रम लागू गर्ने योजना ल्याएको छ।’ किसानहरू गत वर्षबाट बेमौसमी वर्षाको कारण समस्यामा पर्न थालेका छन्। कृषि बिमा गरेर किसानलाई हुने क्षतिको कम गर्न प्रयास थालिने सरकारी पक्षले जनाएको छ।