सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट अवैध रुपमा आयात हुने माछाका कारण सुदूरपश्चिमका किसान समस्यामा

२०७९ असोज १६, ०८:१३ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमका माछा पालक किसान भारतीय माछाका कारण समस्यामा परेका छन्। नेपाली माछाको तुलनामा भारतीय माछा सस्तो हुनेभएपछि व्यपारीहरूले भारतको माछा विक्री गर्दै आएका हुन्। स्वास्थ्यका लागि स्थानीय माछा राम्रो मानिएपनि बजारमा भने सडेगलेका भारतीय माछासँग नेपाली जीउँदो माछाले प्रतिस्पर्धा गर्न नसकेको किसानको गुनासो छ।

सुदूरपश्चिम प्रदेशमा करिव ८ हजार किसान माछा उत्पादन तथा विक्रीमा संलग्न छन्। प्रदेशको कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा प्राकृतिक र मानव निर्मित पोखरी निर्माण गरेर माछा उत्पादन गरिदैँ आएको छ। प्रकृतिक ताल र नदीका साथै पोखरी बनाएर वार्षिक ८ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ। प्रदेशभित्र माछाको माग वार्षिक ३० हजार मेट्रिकटन भएपनि मागअनुसार उत्पादन भने हुन नसकेको मत्स्य विकास केन्द्र गेटाका प्रमुख डाक्टर सूर्य शाहीले बताए।

"एक व्यक्तिले वर्षमा १० किलो माछा उपभोग गर्ने आधारमा सुदूरपश्चिमलाई ३० हजार मेट्रीकटन माछा आवश्यक हुन्छ," उनले भने, "अहिले मागभन्दा निकै कम उत्पादन हुने गरेको छ, किसानको संख्या बढे पनि उत्पादन आवश्यकताभन्दा निकै कम छ।" सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका किसानले उल्लेख संख्यामा माछा उत्पादन गर्दै आएका छन्। सरकारले माछा पालन गर्न अनुदान दिँदै आएपछि माछा पालक किसानको संख्या बढ्दै गएको छ। तर व्यवसायिक रुपले माछा पालनलाई निरन्तरता दिने किसानको संख्या भने निकै कम छ।

माछा पालक किसानले व्यवसायिक रुपमा माछा पालन गरेर आम्दानी गर्न निकै चुनौति रहेको बताएका छन्। माछाको भुरा, दाना, औषधि र अन्य प्रविधिका लागि भारतकै भर पर्नुपर्ने बाध्यता कायमै छ। भारतीय आयातित माछाका कारण स्वदेशी माछा उत्पादक किसान समस्या परेको कैलालीका माछा पालक किसान डेजी पाण्डेले बताए।

"हाम्रो माछाले भारतीय माछासँग प्रतिस्पर्धा गर्नु पर्छ, माछाको भुरा, दाना औषधि र प्राविधिक रुपमा हामीले भारतमै निर्भर हुनुपर्ने अवस्था छ," उनले भने, "भारतमा किसानले सरकारबाट पाउने अनुदान पनि राम्रो पाउछन्, उताको माछा सस्तो हुन्छ, उत्पादन लगानी नै कम छ, हाम्रोमा लागत नै बढी छ, जसका कारण व्यापारीले सस्तो माछा बिक्री गर्न रुचाउँछन्; हामीले मूल्य नै पाउँदैनौँ।" भारतीय माछा सेटिङ मिलाएर आयात हुने गरेको किसानको गुनासो छ।

भारतमा सरकारले दिने सहुलियतका कारण किसानलाई लागत कम हुने तर नेपालमा माछाका भुरा, दाना, लगायत माछा मार्ने जालसमेत भारतबाटै आयात गर्नुपर्ने भएकाले उत्पादन लागत नै उच्च हुने गरेको किसानको भनाइ छ। माछा तयार भएर बजारमा पठाउने बेला भारतीय फर्मालिन हालेको माछाले नेपाली माछा विस्थापन गर्दा सस्तोमा व्यापारीलाई माछा बेच्नुपर्ने बाध्यता छ। तर नेपाली माछा भारतीय माछाभन्दा स्वस्थकर भएको मत्स्य विकास केन्द्र गेटाका प्रमुख शाहीको दाबी छ।

"नेपाली माछा स्वास्थकर छ, उपभोक्ताले जिउँदो माछा किन्न पाउँछन्," उनले भने, "भारतीय माछाको तुलनामा यहाँको उत्पादन मीठो पनि छ, उपभोक्ताले रुचाउँछन्।" भारतीय फर्कालिन हालेको मरेको माछाका कारण स्वदेशमै उत्पादन भएको ताजा माछा खानबाट उपभोक्ता बञ्चित हुनु परेको छ।

सेटिङमा तथा तस्करी गरेर भित्र्याइने माछाका कारण व्यवसाय र लगानी जोखिममा रहेको किसानले बताएका छन्। भारतबाट ल्याइने मरेको माछा रोक्न सके किसान तथा उपभोक्ता दुबैलाई फाइदा हुने माछा पालक किसानले बताएका छन्। भारतबाट माछा ल्याउदा अवैध रुपमा प्रतिट्रक १० हजारका दरले भन्सार विन्दुमा रकम बुझाएर मरेको माछाको बिक्रीवितरण रोकिनु पर्ने किसानहरूले माग गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस