सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आवश्यकताको १० प्रतिशत मात्रै मकै उत्पादन

२०७९ भदौ १०, ०६:५२ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशमा दाना उद्योगलाई आवश्यक पर्ने मकै उत्पादन गर्न सकिएको छैन। प्रदेशमा आवश्यकताको केवल १० प्रतिशत मकै मात्रै उत्पादन हुनेगरेको छ। स्थानीय उत्पादनले बजारको माग नधानेपछि भारतलगायत तेस्रो मुलुकबाट ठुलो परिमाणको मकै आयात भइरहेको छ। कैलाली र कञ्चनपुरमा तीन फसल मकै खेती गर्न सकिने भएपनि किसानहरूले भने मकै उत्पादन बढाउन  सकेका छैनन्।

सुदूरपश्चिम प्रदेशमा करिब १५ हजार किसानले व्यवसायिक कुखुरा पालन गर्ने गरेका छन्। कुखुरा पालन गर्ने किसान बढेसँगै सुदूरपश्चिम प्रदेशमा कुखुराको आहार अर्थात दाना उद्योग पनि संचालनमा छन्। तरm कुखुराको दाना बनाउन प्रयोग हुने खाद्यान्न मकै उत्पादन भने बढ्न सकेको छैन। 

आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ४८ हजार ३५६ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएकोमा केवल ९३ हजार ३१४ मेट्रिक टन मकै उत्पादन भएको तथ्यांक छ। यो उत्पादन यहाँका दाना उद्योगलाई आवश्यक पर्ने मात्रामा करिब १० प्रतिशत मात्रै रहेको कैलालीका दाना व्यवसायी सूर्यबहादुर थापाले बताए। ‘हामीलाई आवश्यक पर्ने मकैको १० प्रतिशत पनि स्थानीय बजारमा पाउन मुस्किल छ,’ उनले भने, ‘दाना उद्योगलाई चाहिने मकै भारतलगायत तेस्रो मुलुकबाट मगाउने गरेका छौँ।’

कैलाली र कञ्चनपुरमा वर्षमा तीन पटक मकै खेती गरेर उत्पादन बढाउन सकिने भएपनि सरकारी नीतिको अभाव, मल तथा वीउ उपलब्ध नहुँदा परम्परागत रुपमा थोरैमात्र मकै खेती हुने गरेको छ। बजारमा दानाको खपत बढ्ने तर प्रमुख कच्चापदार्थ मकै उत्पादन बढाउन नसक्दा आयात गर्नुपर्ने बाध्यता रहेको उद्योगीले बताएका छन्।

कैलाली र कञ्चनपुरमा मकै खेतीको क्षेत्र र उत्पादन विस्तार गर्न निकै सजिलो रहेको उद्योगी व्यवसायीको ठम्याइ रहेको छ।  संघ र प्रदेश सरकारको कृषि मन्त्रालयले स्पष्ट नीति लिएर काम गर्न सके दाना उद्योगले मकै आयात गर्नुपर्ने अवस्था कम गर्न सकिने  व्यवसायी सूर्यबहादुर थापाले बताए।

‘संघ र प्रदेश सरकारले मकै उत्पादन बढाउन विशेष कार्यक्रम ल्याउन सके कैलाली र कञ्चनपुरमा तीन फसल मकै उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘एक कट्ठामा ६ कुइण्टल मकै उत्पादन हुन्छ। सरकारसँग इच्छाशक्ति भए मकै उत्पादनमा आत्मनिर्भर हुन सकिन्छ।’

सुदूरपश्चिममा धान र गहुँपछि मकै तेस्रो मुख्य कृषि बाली हो। सुदूरपश्चिम प्रदेश सरकारले भने मकै उत्पादन बढाउन विभिन्न कार्यक्रम ल्याएको दाबी गरेको छ। प्रदेशमा मकैको  उत्पादन बढाउन बजेट छुट्याइएको दाबी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीको छ। ‘हामीले मकै उत्पादन बढाउन कार्यक्रम बनाएका छौँ,’ उनले भनिन्, ‘मकै उद्योगले खरिद गर्नेगरी उत्पादन बढाउने कार्यक्रम बजेटमा ल्याएका छौँ।’

कैलाली र कञ्चनपुरमा मकै उत्पादनको राम्रो सम्भावना भएकाले उत्पादनमा जोड दिन सरकारले आवश्यक नीति र कार्यक्रम ल्याउनुपर्ने देखिन्छ। तर सरकारी नीति र कार्यक्रमको प्रभाव कृषि उत्पादनमा पर्न सकेको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस