कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
धनगढीः पछिल्लो समय आम नागरिकमा राजनीतिक दलहरुप्रति वितृष्णा बढ्दै गएको छ। जनतालाई देखाएका सपनाहरु अधुरै राखेका कारण वितृष्णा बढ्दै गएको हो। यति मात्रै होइन दलका विभिन्न क्रियाकलापका कारण पनि पार्टीहरु विश्वास गुमाउँदै गएका छन्। यसको थप एक उदाहरण निर्वाचन खर्च पनि बनेको छ।
गएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरुले अहिलेसम्म पनि खर्च विवरण बुझाएका छैनन्। १३ स्थानीय तह रहेको कैलालीमा वैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो। मत परिणम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने भएपनि कैलालीका उम्मेदवारले कानूनको बेवास्ता गरेका हुन्।
गत स्थानीय निर्वाचनमा जिल्लाबाट ३ हजार ७३ उम्मेदवार रहेका थिए। तर हालसम्म ५ सय ७० जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले बताए। ‘अहिलेसम्म ५ सय ७० जनाले मात्रै विवरण बुझाएका छन्। बाँकी २ हजार ५०३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन,’ उनले भने।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो। उम्मेदवारले सम्पूर्ण खर्च विवरण स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा २ र स्थानीय तह निर्वाचन सम्बन्धी २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। निर्वाचन खर्च नबुझाएकै कारण दलहरुले आफ्नो गरीमा गुमाउँदै गएको कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख सुरेन्द्र चन्दले बताए। ‘नागरिकमा निराशा छ। निर्वाचन खर्च नबुझाउँदा पनि दलहरु गरीमा गुमाउँदै छन्। यो गलत संस्कारको विकास हुँदैछ,’ उनले भने।
उम्मेदवारले मतपत्र खरिद, सवारी साधन तथा गाडी घोडाको प्रयोग, सवारी तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायत विविध निर्वाचन खर्च विवरण पठाउनुपर्ने नियम छ।
निर्वाचन आयोगले चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारको छुट्टै विवरण पठाउन निर्देशन दिएको थियो। आयोगले उक्त विवरण नबुझाउनेलाई कारबाही गर्ने जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी चौधरीले बताए।