सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका रोहित, जो एकै गीतबाट चर्चित बने

२०७९ साउन ७, ०५:४८ रोशन भट्ट

धनगढीः अहिले सामाजिक सञ्जालमा अघिल्लो पुस्तादेखि नयाँ पुस्ता निकै सक्रिय छ। विशेषगरी पछिल्लो समयमा चर्चित बनेको सञ्जाल हो टिकटक। यसका प्रयोगकर्तालाई कुनै पनि उमेर समूहले छेकेको छैन। किशोर अवस्थादेखि वृद्धाअवस्थासम्मका मानिसहरु टिकटकमा नजोडिएका सायदै होलान्। 

यसै टिकटकबाट चर्चा कमाएको गीत हो 'मुसुर्दानी'। डोटेली शब्दहरु मात्रै नभएर सुदूरपश्चिमकै मौलिक लयमा सजिएको यो गीत निकै लोकप्रिय बन्यो। सुदूरपश्चिममा मात्रै होइन कार्णलीसँगै अन्य प्रदेशका दर्शक स्रोताले पनि मुसुर्दानी मन पराए। र, यस गीतका विभिन्न टुक्कामा हजारौं टिकटक पनि बने। आजको मितिसम्म यो गीतलाई युट्युबमा पनि २६ लाख बढी पटक हेरिएको छ। 

यसै मुसुर्दानी गीतका स्रष्टा हुन्, डडेल्धुराका रोहित देउवा। गन्यापधुरा गाउँपालिकामा जन्मिएका देउवा अहिले २२ वर्षका भए। उनले संगित क्षेत्रसँग औपचारिक नाता लगाएको ३ वर्ष भयो। देउवा सुदूरपश्चिमको मौलिक संस्कृती झल्कीने देउडाका पारखी पनि हुन्। सानै उमेरदेखि देउडामा रुचि राख्ने उनी अहिले देउडाकै कारणले लाखौं दर्शक स्रोतामाँझ चिनिएका छन्। 

गाउँ घरमा बोलिने भाषा, विभिन्न अवसरमा खेलिने देउडा र मेलापातमा गाइने ठाडीभाका बाटै संगितमा लाग्ने प्रेरणा मिलेको भनाई उनको छ। ‘म संगितमा लाग्नुको कारण नै देउडाप्रतिको लगाव हो। यो यात्रा देउडाबाट सुरु भएका कारण अन्य संगिततिर लागेको छैन,’ उनले भने। 

प्रविणता तहसम्मको अध्ययन डडेल्धुरामै गरेका देउवा स्नातक अध्ययन गर्नका लागि कैलाली झरेका थिए। अहिले उनी विगत दुई वर्षदेखि देशकै संघीय राजधानी काठमाडौंमा बस्दै आएका छन्।  संगित नै अध्ययन गरिरहेका उनी नयाँ सिर्जना गर्नमा पनि व्यस्त छन्। तुलनात्मक रुपमा उनले धेरै सिर्जना बजारमा ल्याएका छैनन्। उनले तयार गरेका संगितमा मनोरञ्जन मात्रै हुँदैन। उनका रचनामा यस क्षेत्रको मौलिक संस्कृती झल्किने कथावस्तु पनि भेटिन्छ। 

हालै सार्वजनिक भएको ‘लिलु’ बोलको गीतमा सुदूरपश्चिमको कुप्रथा छाउपडीको पीडा प्रस्तुत भएको छ। यो गीतले समस्या मात्रै देखाएको छैन, नीति निर्माण गर्ने तहमा पुगेकाको कानसमेत ठाडो पारेको छ। ‘सिर्जनाले केही सन्देश दिनुपर्छ भन्ने मलाई लाग्छ। अनि सुदूरपश्चिमको संस्कृतीलाई फैलाउने काम पनि हाम्रो नै हो। यसै अभियानमा लाग्ने छु,’ उनले भने। 

सुदूरपश्चिम संगितमा धनी छ। यस क्षेत्रका मौलिक संस्कृतिलाई जोगाउने जिम्मेवारी पनि युवाको काधमा छ। संगितका माध्यमबाट धेरैलाई सचेत र जानकारी दिन सजिलो पनि छ। नयाँ पुस्ताले सुदूरको देउडा, ठाडी, धमार, मागल लगायतका संस्कृतीलाई भुल्दै गएको छ।

त्यसकारण पनि कलाका माध्यमबाट यी सबै सुदूर संगितका सम्पत्तिलाई जोगाउन आवश्यक छ। यसमै केन्द्रित भएर आगामी दिनमा पनि नयाँ गीत संगित तयार गरेर सार्वजनिक गर्ने योजना युवा देउडा सर्जक देउवाको छ। जो सिर्जनाले समाजमा पनि केही योगदान दिन सकोस्, त्यस्तै रचना जन्माउने सोच रोहितको छ। संगितले मनोरञ्जन मात्रै होइन, प्रेरणा, हौसला, मार्गदर्शन तथा समजाको ऐनाको काम गर्ने गर्छ। त्यसैले भन्ने गरिन्छ सिर्जनामा शक्ति पनि लुकेको हुन्छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस