सुदूरपश्चिममा सडक दुर्घटनाको अवस्था डरलाग्दो, एक वर्षमा १९६ जनाको मृत्यु
धनगढीः सुदूरपश्चिम प्रदेशमा एक आर्थिक वर्षमा मात्र ६७३ सवारी दुर्घटना भएका छन्। आर्थिक वर्ष २०७८/०८९ मा प्रदेशभरी ६७३ सवारी साधन दुर्घटनामा परेका हुन्। सबैभन्दा बढी मंसिरमा ९८ सवारी दुर्घटनामा परेको तथ्यांक ट्राफिक प्रहरीसँग छ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी ३ सय ५६ मोटरसाइकल दुर्घटनामा परेका छन्। त्यसपछि एक सय ३ जीप र कार दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पछिल्लो एक वर्षमा मात्रै सवारी दु्र्घटनामा परेर सुदूरपश्चिममा एक सय ९६ जनाले ज्यान गुमाएका छन्। जसमा सबैभन्दा बढी पुरुष १ सय ५३ जना रहेका छन्। भने, महिला २७, बालक १२ र ४ बालिका रहेका छन्।
गत वर्ष नै सवारी दुर्घटनामा परी ३ सय ९५ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते मध्ये केही उपचारपछि घर फर्किएका छन् भने केहीको विभिन्न अस्पतालमा अहिलेपनि उपचार भइरहेको छ।
यस्तै एक वर्षमा सवारी दुर्घटनामै परी ६ सय ६ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक छ। सडक दुर्घटनामै ५ सय १ चौपाया पनि परेका छन्। जसमध्ये ३१ चौपाया मरेका छन् भने १० घाइते भएका छन्।
सुदूरपश्चिममा चालकको लापरबाही, पैदल यात्रीको कमजोरी, सवारीमा आउने खराबी तथा सडकको दुरावस्थाका कारण दुर्घटना हुने गरेका छन्। प्रदेशको सडक सञ्जाल नै असुरक्षित भएका कारण प्रत्यक वर्ष दुर्घटनाको ग्राफ बढ्दै गएको ट्राफिक प्रहरीको दाबी छ। तर पनि यसतर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन।
गत आर्थिक वर्ष नै प्रदेशभरीका ९७ हजार एक सय ७ सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीमा परेका सवारी साधनबाट ५ करोड ४१ लाख ९४ हजार राजश्वसमेत संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।