सुदूरपश्चिमका सबै मतगणना स्थलमा सिसिटिभी जडान
धनगढीः स्थानीय तह निर्वाचन २०७९ को मतदान वैशाख ३० गते विहान ७ बजेदेखि हुने छ। अपराह्न ५ बजेसम्म हुने मतदानपछि मतगणनाको प्रक्रिया सुरु हुन्छ। देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउनका लागि निर्वाचन अधिकृतका कार्यलयहरु आफ्नो तयारीमा जुटेका छन्। विषेशगरी प्रदेशका सबै पालिकामा मतगणना हुने स्थान छनोट भइसकेको छ।
उक्त गणनास्थलमा सिसिटिभीको व्यवस्था मिलाइएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए। ‘जिल्लाका सबै पालिकामा हुने मतगणना स्थलमा सिसिटिभी क्यामराको व्यवस्था छ। कतै जडान भइसक्यो। कतै हुँदैछ’ उनले भने।
९ स्थानीय तह भएको कञ्चनपुरमा पनि सबै गणना स्थलमा सिसिटिभी जडान गरिएको छ। जिल्ला सदरमुकाममा रहेको भीमदत्त नगरपालिकाको मतगणना समन्वय समितिको हलमा हुने बताइएको छ। जिल्लाका बाँकी ८ स्थानीय तहको गणना भने सम्बन्धित केन्द्रमा नै हुनेभएको छ। मतगणना हुने ती स्थानमा पनि सिसिटिभीको व्यवस्था गरिएको दाबी निर्वाचन कार्यालयको छ। पारदर्शी रुपमा मतगणना गर्नका लागि सिसिटिभीको व्यवस्था गरिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए। उनले भने, ‘जिल्लाका ९ ओटै स्थानीय तहमा नै मतगणना पारदर्शी हुन्छ। त्यसका लागि सिसिटिभी जडान लगायत सम्पूर्ण तयारी पुरा भएको छ।’
प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला कैलालीको निर्वाचनलाई भने निकै महत्वका साथ हेरिएको छ। सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका पनि कैलालीमै भएका कारण यहाँको निर्वाचनलाई बढी महत्वका साथ हेरिएको हो।
जिल्लाका १३ ओटै स्थानीय तहमा हुने मतगणना स्थलमा पनि सिसिटिभी जडान गरिएको छ। धनगढीको मतगणना उपमहानगरपालिकाकै नयाँ भवनमा हुने बताइएको छ, भने अन्य स्थानीय तहको सम्बन्धित केन्द्रमा नै हुने छ।
जिल्लाका सबै स्थानीय तहमा सुरक्षा र पारदर्शी गणनालाई मध्यनजर गरी सिसिटिभीको व्यवस्था गरिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। ‘कैलालीमा मतगणना हुने स्थान छनोट भइसकेको छ। सुरक्षाको दृष्टिकोणबाट पनि सुरक्षित छन्। मतगणना स्वच्छ बनाउनका लागि सिसिटिभी क्यामरा जडान गरेका छौं,’ उनले भने।