सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल 

डडेल्धुराको भागेश्वर गाउँपालिकाका युवाहरु ।
डडेल्धुराको भागेश्वर गाउँपालिकाका युवाहरु ।
२०७९ वैशाख २८, ०६:२९ रोशन भट्ट

धनगढीः बुधबार दिउँसो धनगढी बसपार्कमा पुग्दा चहलपहल घटेको दृश्य देख्न सकिन्थ्यो। विगतको तुलनामा बसपार्कभित्र सवारी साधन पनि कम थिए भने यात्रुहरुको  संख्या पनि विगतका जस्तो थिएन।

तर, बसपार्क भित्रै भेटिए, वीरबहादुर ओखेडा। धनगढीमा बस्दै आएका ओखेडा स्थानीय निर्वाचनमा मतदान गर्न बझाङ जाने तयारीमा थिए। आफ्नो परिवारसहित बसपार्क पुगेका ओखेडा मतदान गर्नका लागि बझाङको चैनपुर लागेका हुन्। ‘निर्वाचनका लागि पहाड जाँदैछु। हामी घरका सबैजना भोट हाल्न नै घर जान लागेको हो’ उनले भने।

बुधबार दिउँसो २ बजेको समयमा नै बसपार्कमा बाजुराका सुनिल विष्ट पनि भेटिए। बाजुराको बडिमालिका नगरपालिकाका विष्ट पनि घर फर्किनका लागि बसपार्क पुगेका हुन्। पहिलोपटक मतदान गर्न लागेका उनी बुधबार बाजुरा हिँडेका छन्। उनले भने, ‘म पहिलोपटक भोट हाल्दै छु। खुसी लागेको छ।’

अहिले स्थानीय तहको निर्वाचनका लागि सहरबाट धेरै मतदाता गाउँ पुगिसकेका छन्। निर्वाचन देशैभर एकै चरणमा हुन लागेको भए पनि सहरमा चहलपहल केही घटेको छ। विशेषगरी धनगढीमा बस्नेहरुको मतदाता नामावली गाउँमा भएकाले उनीहरु गाउँ फर्किएपछि चहलपहल घटेको छ। 

गाउँ फर्किने अधिकांश मतदाताहरु मंगलबारसम्म नै गइसकेका छन्। केही मतदाताहरु बुधबार पनि मतदानका लागि गाउँ फर्केको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले बताए। ‘अरु समयको तुलनामा चहलपहल घटेको छ,’ उनले भने, ‘मतदान गर्नका लागि सहर छोड्नेको संख्या बढी छ।’ 

३० गते हुने मतदानका लागि गाउँ फर्किनेको संख्या बढेपछि भने गाउँमा भने चहलपहल बढेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस