कैलाली कारागारभित्रै यस्तो 'सेटिङ': ५० रुपैयाँमा १ खिल्ली चुरोट, ८ हजारमा रक्सीको बोतल
जेलमा लागूऔषधको कारोबारदेखि लाखौं असुली
धनगढीः एक सय ५० जनाको क्षमता रहेको कैलाली कारागारमा ५ सयभन्दा बढी कैदीबन्दी राखिएको छ। क्षमताभन्दा तेब्बर कैदी, जीर्ण भवन, खानेपानीको समस्या लगायतका विषयमा कैलाली कारागार विगितदेखि नै चर्चामा आउने गरेको थियो। तर कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्।
कैलाली कारागारका जेलर नरबहादुर थापाको संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ। कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगै भित्रै लागूऔषध उपलब्ध गराउने, मदिरा बिक्री गर्ने, तास खेलाउने लगायत कार्य हुने गरेको कैद भुक्तान गरेर निस्केका एक जनाले बताए। ‘नाइके र आउट डोरवालाले बेथिति मौलाउँदै लगेका छन्। उनीहरुले फोन भित्र्याउने, गाँजा चरेश भित्र्याउने, भित्रै कोठा बनाएर बिक्रि गर्ने, मासिक रुपमा कैदीहरुबाट आर्थिक असुली गर्ने, केही कतै गुनासो गरे कुटपिट गर्ने गरेका छन्,’ केही समय अगाडि मात्रै कारागारबाट निस्केका उनले भने।
कैलाली कारागारमा १० जनाभन्दा बढी कैदीबन्दीहरु आउटडोर(सजाय भोगिरहे पनि बाहिर घुम्न पाउने) छन्। उनीहरु नै यी कार्य गर्नमा सक्रिय छन्। जेलर थापाको संरक्षणमा उनीहरुले बाहिरबाट गाँजा तस्करी र मदिरा बिक्री गर्ने गरेका छन्। कारागारमै २० जनाभन्दा बढी नाइकेहरु छन्। उनीहरु पनि जेलरसँगै मिलेको आरोप लागेको छ। कैदीले खानाको विषयमा पनि केही गुनासो गरे सरुवा गर्छु भन्दै डर देखाउने र नाइकेहरुले पिट्ने लगायत विभिन्न यातना दिने गरेको कारागारबाट निक्केका अर्का युवकले भने।
‘सरसफाइ लगायतको काम गर्ने बहानामा कैदीहरुसँग मासिक रुपमा शुल्क पनि उठाउने गरिएको छ’ उनले भने। उनका अनुसार कारागारभित्र ५० रुपैयाँमा एक खिल्ली चुरोट, १ बोतल रक्सी ५ देखि ८ हजारसम्म र एक खिल्ली गाँजा १०० रुपैयाँ तिरेर पाउने गरेको छ। जबकी ती रक्सीको बजार मूल्य ५ सयदेखि २ हजारसम्म रहेको छ।
तर कारागारका जेलर नरबहादुर थापाले ती सबै आरोपहरु स्वीकार गर्न तयार छैनन्। ‘गाँजा लगायतको सामान आएको विषयमा मलाई कुनै जानकारी छैन। त्यो सुरक्षाको टोलीलाई थाहा होला,’ उनले भने, ‘यी सबै बेथिति मेरो संरक्षणमा भएको कुरा पुष्टि भए म जुनसुकै सजाय भोग्न तयार छु।’
कैलाली कारागारको विभिन्न भवनमा १५ भन्दा बढी फोन सेट पनि राखिएका छन्। नाइके र आउटडोर कैदीबन्दीको संरक्षणमा ती मोबाइल भित्र छिराइएको बताइन्छ। कुनै कैदीलाई केही समयको लागि फोन आवश्यक परे चर्को रुपैयाँ लिएर उनीहरु फोन समेत दिने गर्छन्।
नाइकेहरुले कैदीहरुबाट नै पैसा उठाएर भित्रै जुवा खेलाउने पनि गरेका छन्। यति मात्रै होइन केही नाइकेहरुले कारागारभित्रै अलग्गै कोठा पनि बनाएका छन्। जुन कोठाहरु दुई लाख बढीमा भाडामा दिने गरेको आरोप लागेको छ।
यी सब बेथितिमा जेलरको प्रमुख हात रहेको आरोप लागेको छ। यी गतिविधि गर्न दिएबापत जेलरले मासिक रुपमा एक लाख ८० हजारभन्दा बढी कमिशनसमेत पाउने गरेको कैदीबन्दीले बताउने गरेका छन्।
तर यसविषयमा जिल्ला प्रशासान कार्यालय कैलाली भने अनभिज्ञ छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले त्यसको व्यवस्थापनको जिम्मा कारागार कार्यालय प्रमुखको नै हुने गरेका बताए। ‘बाहिर बसेर नाइकेहरु अनावश्यक दुःख दिएको, पैसा लिएको विषय जेलरनै नै हेर्नुपर्छ। कानूनविपरितका काम भएको हेर्ने प्रमुख जिम्मेवारी जेलरकै हो’ कैलालीका सिडिओ थापाले भने, ‘गुनासो आएको समयमा हामीले पनि छड्के अनुगमन गर्ने गरेका छौं।’