सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ८८ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७९ वैशाख ८, ०६:१० रोशन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाउनका लागि सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

प्रदेशका ९ ओटै जिल्ला सदरमुकाममा रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र बाँकीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको निर्वाचन कार्यालय सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टले बताए। 
कैलालीको धनगढी उपमहानगरपालिकामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायाधीस निर्वाचन अधिकृत रहनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालयले बिहीवारदेखि नै जिल्लामा चुनावको तयारी तीव्र पारेको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। ‘हामीले आफ्नो तयारी सुरु गरेका छौं। चुनाव सम्पन्न गर्नको लागि सबैको सहयोग चाहिन्छ। मतदान केन्द्र निरीक्षणमा पनि हामी जाँदैछौं,’ उनले भने। 

१३ ओटा स्थानीय तह रहेको कैलालीमा चुनावका लागि ६ सय १९ मतदान केन्द्र तोकिएको छ। स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय हुने गरी ६ सय १९ मतदान केन्द्र तोकिएको छन्। एक मतदान केन्द्रमा तीन जना स्वयमसेवकसहित ८ जना कर्मचारी खटाइएको छ। कैलालीमा मात्रै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि ४ हजार ९ सय ५२ कर्मचारी खटिने भएका छन्। 

सुदूरपश्चिमका ८८ स्थानीय तहमा एक हजार एक सय ३५ मतदान स्थल तोकिएका छन्। जसमा  दुई हजार एक सय ३ केन्द्रबाट मतदान गर्न सकिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ। 

प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७ सय ३४ वडाध्यक्ष र दुई हजार ९ सय ३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल तीन हजार ८ सय ४६ जनप्रतिनिधि निर्वाचित हुने भएका छन्। अहिले सुदूरपश्चिममा १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेका छन्। जसमध्ये ८ लाख ३१ हजार ४ सय ७० महिला, ८ लाख ६ सय ६२ पुरुष र १८ तेस्रो लिङ्गी छन्। 

यस्तै कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने विषयमा भने तयारी भइरहेको छ। सम्वेदनशील केन्द्रको समेत पहिचान गरी सुरक्षाकर्मी खटाउने तयारी भइरहेको हो। 

निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ताको मिति तोकिएको छ। १७ गते चुनाव चिह्न उपलब्ध गराउने तालिका रहेको छ भने, २७ गतेबाट मौनअवधि सुरु हुनेछ। वैशाख ३० गते विहानबाट मतदान सुरु हुने तालिका छ।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस