सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मीसंगै सुदूरपश्चिममा बढ्यो अघोषित लोडसेडिङ

२०७९ वैशाख २, १०:२८ रोशन भट्ट

धनगढीः गर्मीसंगै सुदूरपश्चिम प्रदेशमा अघोषित लोडसेडिङ पनि बढ्न थालेको छ। चैत महिनादेखि गर्मी बढ्न थालेकोमा वैशाखसम्म आइपुग्दा अघोषित लोडसेडिङ हुने समय पनि निकै बढेको हो। धनगढीसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा दैनिक जसो अघोषित रुपमा हुने लोडसेडिङले आम नागरिक आजित भएका छन्।

गर्मी बढेसँगै अनियमित विद्युत कटौती पनि बढेपछि तराइका जिल्लाका बासिन्दाको दैनिकी कष्टकर बनेको छ। गर्मीमा खपतसमेत बढ्ने भएकाले विद्युतीय उपकरण मर्मत लगायतका कामहरु यस अगाडिनै गर्नु पर्ने भए पनि प्राधिकरण जिम्मेवार नभएको अत्तरियाका स्थानीय गणेश जोशीले बताए। ‘अनियमित विद्युत कटौतीले सबैलाई समस्या भएको छ,’ उनले भने, ‘गर्मी बढेसँगै  बक्तिसमेत जान थालेपछि कर्मचारीको केही व्यापारीसँग मिलेमतो छ की भन्ने पनि आशंका उब्जीएको छ।’

विद्युत कटौती भए वैकल्पिक उपकरणको समेत बिक्री हुने हुदाँ व्यापारीसंगको मिलेमतोमा अघोषित लोडसेडिङ गर्ने गरेको आरोप प्रदेशवासीको छ। समान्य विद्युतको तार चुडिएको भए पनि विद्युत प्राधिकरणले मर्मतमा लापर्बाही गर्दा समस्या खेप्नु परेको छ। सहरी क्षेत्रमा विद्युतीय उपकरणको बढ्दो प्रयोग भएका बेला हुने अघोषित लोडसेडिङले जनजीवन असहज बनाइदिएको छ।

विजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको धनगढीका स्थानीय देवराज अवस्थीले बताए। ‘पछिल्लो समयमा बत्ती आउने–जाने धेरै भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थी लगायत अन्य सबै नगरवासीको दैनिक कष्टकर भएको छ।’ प्राधिकरणले विभिन्न वाहना बनाएर विद्युत कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरुले समस्या झेल्नु परेको छ भने विद्युत नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्किल परिरहेको छ।

उपकरण मर्मतमा पनि प्राधिकरणले ढिलासुस्ती गर्ने गरेको छ। जसका कारण समस्या प्रदेशवासीलाई भइरहेको छ। लोडसेडिङ अन्त्य गरेको बताइए पनि विद्युत अनियमित हुन थालेको धनगढीकै अर्का स्थानीय आकाश खड्काले बताए। उनले भने, ‘लोडसेडिङ छैन भन्ने, तर बिजुली आउने जाने गरेको छ।’

यता नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले पनि अहिले विद्युत आपूर्तिमा कुनै पनि समस्या नभएको दाबी गरे। ‘पछिल्लो एक÷दुई दिन केही उपकरणमा खराबी देखिएका कारण अनियमित भएको हो,’ उनले भने, ‘अहिलेलाई सबै समस्या समाधान भयो। अब विद्युत कटौती हुँदैन।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस