कैलालीको गौरीगंगामा बदमासी, कार्यान्वयन भएन छानबिन प्रतिवेदन
धनगढीः चालू आर्थिक वर्षको सुरुवातदेखि कैलालीको गौरीगंगा नगरपालिकामा बदमासी भएको भन्दै विरोध भइरहेको थियो। नगरपालिकाका जनप्रतिनिधिको कमजोरीका कारण बदमासी भएको आरोप थियो। सोही विरोधपछि कार्यपालिकाले नै एक छानबिन समति गठन गरेर अनुसन्धान थाल्यो। कार्यपालिका सदस्यको नेतृत्वमा गठन भएको समितिले तमाम बदमासी उल्लेख गरेको छ।
गत असोजमा नै गठन भएको समितिले गत पुसमा प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनलाई एक हप्ताभित्रै कार्यान्वयन गर्न निर्देशन दिइएको भए पनि अहिलेसम्म बेवास्ता हुँदै आएको कार्यपालिका सदस्य भक्तबहादुर विश्वकर्माले बताए। ‘हामीले पटकपटक खबरदारी गर्दा पनि ढिलाई भएको छ,’ उनले भने, ‘नगर प्रमुखको कमजोरीका कारण कार्यान्वयन गर्न बेवास्ता भइरहेको छ।’
विषेश गरी उक्त प्रतिवेदनमा नदीजन्य पदार्थ उत्खनन गर्दा मनपरी भएको उल्लेख छ। जसमा जनप्रतिनिधि निकटलाई जिम्मा दिएर नगरपालिकाको ४० लाख आम्दानीमाथि अनियमितता भएको देखिएको छ। यस्तै करार सेवामा कर्मचारी भर्ना गर्दा पनि प्रक्रिया विपरीत भएको भनिएको छ। साथै निकटका व्यक्तिलाई रोजगारी दिएको आरोप उक्त प्रतिवेदनमा छ। योसँगै सवारी साधनको दुरुपयोग, मनपरी रुपमा इन्धन वितरण लगायतका विषयमा पनि कमजोरी भएको छ।
उक्त प्रतिवेदन नगरपालिकामा पेश हुने वित्तिकै छलफलमा जानु पर्ने हो। तर अहिलेसम्म कार्यपालिकाको बैठकमा समेत पेश नभएको वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद तिवारीले बताए। ‘त्यसपछि कार्यपालिका बैठक नै बसेको छैन,’ उनले भने, ‘प्रतिवेदनलाई अर्थविहीन बनाउन खोजिदै छ, यो गलत हो।’
कमजोरी उल्लेख गर्दै बुझाइएको प्रतिवेदनमा सुझावसमेत दिइएको छ। निर्देशनसहितको सुझावमा एक हप्ताभित्र कारबाही सुरु गर्न भनिएको छ। तर प्रतिवेदन बुझाएको दुई महिना हुँनै लाग्दा पनि अहिलेसम्म छलफल समेत भएको छैन। मेयरलाई बुझाइएको प्रतिवेदन कार्यपालिकामा पेश गरेर छलफल गर्नुपर्ने प्रावधान छ। त्यसपछि प्रशासकिय अधिकृतले कार्यान्वयन गर्नुपर्ने हुन्छ। तर यस विषयमा नगरपालिकाका प्रशासकिय अधिकृतलाई अहिलेसम्म औपचारीक रुपमा जानकारी समेत भएको छैन।
यता नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले पनि कार्यपालिकामा यस विषयमा छलफल नभएको बताइन्। ‘एक महिनामा प्रतिवेदन बुझाउन भनिएको थियो। छानबिन समितिले भने तीन महिना लगायो। अहिले मेयरलाई प्रतिवेदन बुझाएको भनिएको छ,’ उनले भनिन्।