सञ्चार माध्यममा रेडियोको प्रभावकारी भूमिका
धनगढीः आज विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो। स्पेनको प्रस्तावमा युनेस्कोको ३६औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो।
नेपालमा पनि नागरिकलाई सूचना उपलब्ध गराउने सञ्चार माध्यममा रेडियोको भूमिका प्रभावकारी देखिएको छ। एफएफ रेडियोलाई अझै बलियो बनाउनका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्ने सायुदायिक रेडियो प्रशारक संघ सुदूरपश्चिमका अध्यक्ष दीर्घराज उपाध्यायले बताउँछन्। ‘विभिन्न समयमा भएका परिवर्तनमा जनतालाई सूचना दिने काम रेडियोले गरेको थियो,’ उनले भने, ‘विकृती विरुद्ध पनि रेडियोले उठाएको आवाग अर्थपूर्ण रहेको छ।’
२००७ सालको प्रजातन्त्र प्राप्तिसँगै रेडियो नेपालले प्रसारण सुरु गरेको ४५ वर्षपछि एफएम सुरु भएको थियो। २०५२ साल कात्तिक ३० गतेदेखि नेपालमा एफएम प्रसारण सुरु भएको थियो। यसपछि निजी तथा सामुदायिक प्रयासबाट एफएम खुल्ने ढोका खुल्यो। अहिले सुदूरपश्चिमका सबै जिल्लामा एफएम सञ्चालनमा छन्। सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर एफएम रेडियोहरुले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले पनि सञ्चारको पहिलो माध्यम रेडियो नै बनेको छ।
दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमै नपुग्ने ठाउँमा खुलेका सामुदायिक रेडियो त सूचनाको प्रमुख आधार नै हुन पुगेका छन्। अन्य सञ्चार मध्यम भन्दा रेडियोको पहुँचमा आम नागरिक सहजै पुग्ने भएकाले पनि यसको लोकप्रियता यथावत छ। तर पछिल्लो समय भने रेडियोका स्रोताहरु भने घट्दै गएका छन्। अनलाइन सञ्चार माध्यमको सुरुवातसँगै रेडियोका स्रोताहरु घट्दै गएको अनुमान गरिएको छ।
पछिल्लो समयमा ठूलो संख्यामा खुलेका रेडियोका कारण आर्थिक स्रोत पनि कम हुँदै गएको ब्रोडकास्टीङ्ग एसोसियसन अफ नेपालका बानका उपमहासचिव गोविन्द रोस्याराले बताए। ‘रेडियो अहिले पनि सञ्चारको प्रभावकारी माध्यम हो। यसलाई अझै प्रभावकारी बनाउन आवश्यक छ’, उनले भने। निश्चित बजारबाट आउने विज्ञापन धेरै रेडियोलाई आवश्यक पर्न थालेपछि आर्थिक स्रोत पनि कम हुँदै गएको छ। छिटो छरितो र आम नागरिकको सहज पहुँच भएको सञ्चार माध्यम रेडियोलाई थप बलियो बनाउन आवश्यक छ। यसमा स्थानीय, प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने माग गरिएको छ।
अहिलेको समयमा पनि रेडियोको प्रभाव कम नभएको दाबी दिनेश एफएमकी प्रबन्धक अमिता कुँवरको छ। रेडियोले प्रशारण गर्ने सामग्रीलाई स्रोताको चाहना अनुसार परिमार्जित गर्दै जाँदा रेडियोको प्रभावकारिता नघट्ने तर्क कुँवरको छ। ‘हाम्रो रेडियो कैलालीमा मात्रै ७८ प्रतिशतले सुन्ने गरेका छन्। यो एक अध्ययनले देखाएको हो। अहिलेसम्म रेडियोलाई माया गर्ने विज्ञापनदाता, स्रोता तथा सुवेच्छुकलाई धन्यवाद,’ उनले भनिन्।