कैलालीमा विद्यालय खोल्ने तयारी
धनगढीः सुदूरपश्चिममा पुस अन्तिम सातादेखि उकालो लागेको कोरोना संक्रमणको ग्राफ पछिल्लो समय घट्दै गएको छ। समग्र प्रदेशसहित कैलालीमा पनि संक्रमण दर उकालो लागेपछि विद्यालय बन्द गर्ने निर्णय भएको थियो। तर पछिल्लो समय घट्दै गएको संक्रमणलाई आकलन गरी संघीय सरकारले नै विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ।
कैलालीको हकमा एक लाख ९ हजार विद्यार्थीलाई खोप लगाउनुपर्ने देखिएको थियो। १२ वर्षदेखि १७ वर्षसम्मका ९३ हजारभन्दा बढी विद्यार्थीले खोप समेत लगाइसकेका छन्। योसँगै विद्यालग सञ्चालन गर्ने बाटो पनि सहज हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए। ‘९३ हजारभन्दा बढी विद्यार्थीले खोप लगाइसकेका छन्। अब बिस्तारै विद्यालय सञ्चालन गर्न पनि खोपले मद्दत पुग्छ’ उनले भने।
कोरोना संक्रमणकै कारण अहिले जिल्लाका १३ वटै स्थानीय तहका विद्यालय बन्द छन्। कतिपय विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरेपनि अधिकांश विद्यालयको पठनपाठन पूर्णरुपमा बन्द छ। प्रायःजसो अन्य क्षेत्र सञ्चालनमै रहेका बेला विद्यालय मात्रै ठप्प छन्। जसकाकारण विद्यार्थीको पढाई प्रभावित हुँदै आएको छ।
संक्रमणको आधारलाई हेर्दा विद्यालय खोल्नेतर्फ स्थानीय प्रशासन पनि सकारात्मक देखिएको छ। जिल्लाका स्थानीय तहले पनि प्रधानाध्यापक र अभिभावकसँग छलफल गरेर भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीले बताए। उनले भने, ‘सरोकारवालासँग छलफल गरेर निर्णय गर्छौ। फागुनको पहिलो सातासम्म विद्यालय खोल्ने तयारी हुँदैछ।’
विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाइएको छ। एक महिनाको फरकमा दोस्रो डोज पनि लगाउनुपर्ने भनिएको छ। कोरोना खोपले नै संक्रमण दरलाई घटाउन सहयोग गरेको धारणा चिकित्सकको छ। त्यसकारण पनि जिल्लाका स्थानीय तहले विद्यालय सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव धेरैको छ।
स्थानीय तहले पनि कोरोनाकै कारण दुई वर्षदेखि प्रभावित हुँदै आएको पठनपाठन सञ्चालन गर्ने जनाएका छन्। स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरीले बताए। ‘यो महिनासम्म स्थानीय प्रशासनले भिडभाड नगर्न आदेश नै जारी गरेको छ। विद्यालय खोल्नतर्फ हामी पनि छलफलमा जुटेका छौं’ उनले भने।