सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कौडीको भाउमा भाडामा जग्गा, १ कट्ठाको मासिक २८०

सरकारी जग्गा बिक्रीदेखि विद्यालयको जग्गा अतिक्रमण

२०७८ माघ २३, ११:०० रोशन भट्ट

धनगढीः कैलालीमा ५ धुर जग्गाको मासिक भाडा ७० रुपैयाँ ! यो सुन्दा कसैलाई पनि विश्वास लाग्दैन होला। तर घोडाघोडी नगरपालिका वडा नम्बर १२ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्वमित्वमा रहेको जग्गालाई यसरी नै भाडामा दिएको छ। विद्यालयले ५ धुरको एक कित्ता कायम गरेर एक सय ३९ कित्ता मासिक ७० रुपैयाँका दरले भाडामा दिएको छ। जसअनुसार २० धुरको १ कट्ठा हुन्छ। सोही अनुसार १ कट्ठाको मासिक भाडा २८० रुपैयाँ हुन आउँछ। विद्यालयले स्थानीय त्रिवेणी बजार व्यवस्थापन समितिलाई साढे २ बिघा भन्दा बढी जग्गा यसरी नै भाडामा दिइएको छ। 

व्यापार प्रवद्र्धन गर्ने भन्दै उक्त जग्गा भाडामा दिएको दाबी गरिएको छ। विद्यालयकै जग्गामा चर्चसहित अन्य संरचना बनाउने समेत निर्णय भएको त्रिवेणी बजार व्यवस्थान समितिका अध्यक्ष फूलराम चौधरीले बताए। ‘व्यापार प्रवद्र्धन गर्नका लागि यो जग्गा भाडामा दिइएको हो,’ उनले भने, ‘हामीले एक कित्ताको मासिक ७० रुपैयाँ भाडा तिर्दै आएका छौं।’

सरकारी जग्गा बिक्री
यस्तै कैलालीकै बर्दगोरीया गाउँपालिका वडा नम्बर ३ खैरेनीमा रहेको सरकारी जग्गा पनि बिक्री गरिएको छ। जगदम्बिके भगवती माध्यमिक विद्यालयको जग्गा बिक्री गरिएको हो। सामुदायिक विद्यालयको व्यवस्थापन समिति, प्रशासन र वडा जनप्रतिनिधि समेतको संलग्नतामा उक्त जग्गा बिक्री भएको बुझिएको छ। १२ वर्षअघि नाप नक्सांकन गरी कित्ताकाट भएको १० कठ्ठा सरकारी स्वामित्वको जग्गा १२ लाखमा जगदम्बिके भगवती माविले आफ्नो भोगाधिकार दाबी गर्दै बिक्री गरेको खुलेको छ। 

तर विद्यालय व्यवस्था समितिका अध्यक्ष रामकुमार चौधरीले भने सबैको सहमतिमा जग्गा बिक्री भएको दाबी गरेका छन्। ‘तीन वर्ष अगाडिबाट विद्यालयले नै उक्त जग्गा प्रयोग गर्दै आएको थियो,’ उनले भने, ‘अहिले जनप्रतिनिधीसँगै अन्य सबैको सहमतिमा बिक्री भएको हो।’

विद्यालयको जग्गा अतिक्रमण
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा पनि अतिक्रमण गरिएको छ। सुखड बजारका व्यापारीहरुले विद्यालयको जमिनको दुरुपयोग गरेका हुन्। उनीहरुले जनप्रतिनिधिलाई समेत प्रलोभनमा पारेर विद्यालयको जमिनमा रजाइँ गर्दै आएका छन्। जनप्रतिनिधिहरुको संलग्नतामा नै उनीहरुले सरकारी जमिनको दुरुपयोग गर्दै आएका हुन्। 

माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा भएपनि घोडाघोडी नगरपालिकाले अतिक्रमित विद्यालयको सरकारी जमिन खाली गराउन सकेको छैन। भाडा नदिने व्यापारीबाट असुल समेत गर्न सकेको छैन।  घोडाघोडी नगरपालिकाका प्रवक्ता मनिराज शाही पनि त्यो विषयमा नेतृत्व गम्भीर नभएको बताए। ‘बैठकमा समेत त्यो कुरा उठ्नुपर्छ। आफ्नो राजनीति बचाउनका लागि सबै चुप लागेका छन्’ उनले भने।

कानूनमा सार्वजनिक जग्गा खरिदबिक्री नपाइने व्यवस्था छ। तर कैलालीमा लामो समयदेखि विद्यालयको जग्गामा सम्बन्धित निकाय नै रजाइँ गर्दै आएका छन्। सरकारी जग्गा दुरुपयोग गर्नेलाई स्थानीय तहका जनप्रतिनिधिको संरक्षण हुने गरेको छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस