सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्यो ६ लेन सडक, मिलेन सतह

२०७८ माघ १७, ०३:२८ रोशन भट्ट

धनगढीः सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्गअन्तर्गत निर्माण भइरहेको मोहनापुल अत्तरिया ६ लेन सडकको सतह मिलाउन बेवास्ता भएको छ। ९० प्रतिशत भौतिक प्रगति भएकोमा कालोपत्रेको सतह मिलाउन भने योजना कार्यालय र निर्माण कम्पनीले बेवास्ता गरेका हुन्। 

६ लेन सडकमा योजना कार्यालय र निर्माण कम्पनीको गम्भीर लापरबाही देखिएको स्थानीय डिबी खत्रीले बताए। ‘निर्माण सम्पन्न नहुँदै सामान्य वर्षामा पनि सडकको अधिकांश भागमा पानी जम्ने गरेको छ,’ उनले भने, ‘सडकको सतह मिलाउन बेवास्ता भइरहेको छ।’ जसका कारण सडक टिकाउ नहुँने आशंका उनको छ। 

तीन वटा प्याकेजमा निर्माण भइरहेको सडकमा दुई वटा निर्माण कम्पनीले काम गर्दै आएका छन्। पहिलो प्याकेजको जिम्मा नागार्जुन निर्माण सेवाले पाएको छ भने दोस्रो र तेस्रो प्याकेजमा राजेन्द्र निर्माण सेवाले काम गरिरहेको छ। तर दुबै निर्माण कम्पनीको लापरबाही देखिएको छ।

योजना कार्यालयले पानीको निकास लागि ठाउँ–ठाउँमा पाइप हाल्नु पर्ने बताए पनि बेवास्ता भइरहेको छ। पानी जम्ने समस्याकै कारण २१ वर्षभन्दा बढी आयु भएको सडक निर्माणकै क्रममा भत्किन थालेको छ। राजेन्द्र निर्माण सेवाका कार्याकारी निर्देशक रोशन भट्टले भने केही ठाउँमा पानी जम्ने समस्या रहेको स्वीकार गरे। ‘केहीकेही ठाउँमा त्यस्तो समस्या देखिएको छ,’ उनले भने, ‘अब पानी निकाश गर्ने काम पनि हुन्छ।’

हिउदे झरीमा ६ लेन सडकमा पानी जम्ने समस्या रहेकोमा बर्सातको पानीले झनै समस्या बढाउने देखिएको छ। अहिले निर्माणाधिन नै रहेकाले योजना कार्यालयले पनि सम्झौताअनुसार सडक निर्माण गर्न ताकेता गर्नुपर्ने हो। तर यस विषयमा योजना कार्यालयको समेत उदासीनता देखिएको छ।

योजना कार्यालयका सव–इन्जिनियर भुवन खड्काले पनि निर्माण कम्पनीलाई पानी जम्ने ठाउँमा पाइप हाल्न भनेको बताए। ‘सतह मिलाउने काम पनि हुन्छ,’ उनले भने, ‘धेरै ठाउँमा त्यस्तो समस्या छैन।’ ६ लेन सडकमा फुटपात, रेलिङ, पेन्टिङको काम समेत अधुरै छ। ट्राफिक लाइट जडानको काम समेत सुरु नभएको सडकमा लगाइएको पेन्ट पनि मेटिन थालेको छ।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस