धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण साढे ४ वर्षसम्म पनि पूरा भएन
धनगढीः धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण कार्य साढे चार वर्षसम्म पुरा हुन सकेको छैन। ०७४ को जेठबाट सडकको निर्माण कार्य सुरु भएको थियो। तीन वटा प्याकेजमा निर्माण भइरहेको सडकको कामले अझै पूर्णता पाउन सकेको छैन।
पछिल्लो समय चौथौ पटक थप भएको म्याद पनि आउने चैतमा सकिँदै छ। उक्त अवधिसम्म पनि सडकको निर्माण कार्यले पूर्णता पाउने संकेत भने देखिएको छैन। अहिले पनि सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। जसका कारण आवतजावत गर्न पनि समस्या भइरहेको छ भने दुर्घटनाको जोखिमसमेत कम हुन नसकेको स्थानीय डिबी खत्रीले बताए। ‘सडक निर्माण अझै अधुरो हुँदा स्थानीयलाई बढी समस्या छ। यसमा आयोजना कार्यालय र निर्माण कम्पनीको कमजोरी देखिएको छ’ उनले भने।
अब विशेषगरी फुटपाथ र सर्भिस लेन निर्माणको काम गर्न बाँकी छ। योसँगै रेलिङ, डिभाइडर, ट्राफिक लाइट लगायतको कामले समेत पूर्णता पाएको छैन। नालीसहित दुई मिटर चौडा फुटपाथ र न्यूनतम साढे ३ मिटर चौडाइको सर्भिस लेन निर्माण गर्ने सम्झौता भएको थियो। आयोजना कार्यालयका अनुसार अहिले एक र दुई नम्बर प्याकेजमा फुटपाथको काम गर्ने तयारी भइरहेको ६ लेन सडक आयोजना कार्यालयका सव–इन्जिनियर भूवन खड्काले बताए। उनले भने, ‘योसँगै पेन्टिङको काम समेत भइरहेको छ। कार्यालय प्रमुख नहुँदा हामीलाई पनि समस्या छ।’
६ लेन सडक योजना कार्यालयसमेत गत मंसिरदेखि प्रमुखविहीन भएको छ। तत्कालिन कार्यालय प्रमुख सरुवा भ पनि नयाँ कार्यालय प्रमुख आएका छैनन्। काम सकिन लागेको भन्दै अधिकांशले प्रमुखको जिम्मेवारीमा आउन मानेका छैनन्। यस्तै गत साउनदेखि भुक्तानीको काम समेत हुन सकेको छैन। तीन वटा प्याकेजमा दुई निर्माण कम्पनीले काम गरिरहेका छन्। ९० प्रतिशत भन्दा बढी भुक्तानी लिएका निर्माण कम्पनीले पनि काममा लापरबाही गरेको आरोप लाग्दै आएको छ।