सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा करोडौंका भेन्टिलेटर थन्किए, ३८ लाखकाे तालिम काम लागेन

२०७८ माघ १३, १२:५२ रोशन भट्ट

धनगढीः झण्डै २ वर्ष अगाडि ०७६ चैत अन्तिम साता सुदूरपश्चिम प्रदेश सरकारले पहिलो लहरको कोरोना संक्रमण बढ्न थालेको भन्दै २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय ग¥यो। निर्णय भएको ६ महिनापछि ०७७ असोजमा २० वटा भेन्टिलेटर खरिद गरियो।

सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालसंगै ६ जिल्ला अस्पताल र अन्य जिल्ला स्तरिय गरी १० वटा अस्पतालमा दुई÷दुई वटा भेन्टिलेटर सञ्चालन गर्ने योजना थियो। सेतीसँगै महाकाली, डोटी र बझाङ जिल्ला अस्पतालमा यसअघि नै भेन्टिलेटर जडान गरिएको थियो।

बाँकी बाजुरा, अछाम, बैतडी, दार्चुला र डडेल्धुरा अस्पतालका लागि पनि २÷२ वटा भेन्टिलेटर खरिद भएका थिए। तर भेन्टिलेटरसहित आइसियू बेड सञ्चालन गर्ने प्रदेश सरकारको योजना कार्यान्वयन नभएको डोटी जिल्ला अस्पतालका निमित्त मेसु वीरेन्द्र रावतले बताए। ‘प्रदेश सरकारले भेन्टिलेटर त दिएको छ,’ उनले भने, ‘सञ्चालनमा आउन सकेको छैन।’

विगतमा प्रदेश सरकारले प्राविधिक जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालन गर्न नसकिएको जनाएको थियो। तर प्राविधिक जनशक्ति तयार गर्नका लागि मात्रै सरकारको ३८ लाख ३० हजार खर्च भएको छ। प्रदेशका १० अस्पतालमा कार्यरत एकजना मेडिकल अधिकृत र एकजना नर्सिङ कर्मचारी गरी २० जनालाई तालिम दिँदा उक्त बजेट खर्च भएको थियो।

नेपालगञ्जमा सञ्चालन भएको दुई महिने तालिम गत मंसिर ११ गते नै सकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले बताए। ‘तालिममा ३८ लाख ३० हजार खर्च भएको थियो,’ उनले भने, ‘२० जना चिकित्सकसहित नर्सिङ कर्मचारीले ६० दिनसम्म तालिम लिएका छन्।’

तालिम सकिएको २ महिना पुरा हुँदा पनि सबै भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन्। प्रदेश सरकारकै लापरबाहीका कारण साढे ५ करोड बढीमा खरिद गरिएका भेन्टिलेटर थन्किएका हुन् भने ३८ लाख बढी सकेर तालिम लिएका स्वास्थ्यकर्मीहरु कामविहीन भएका छन्।

पुस अन्तिम सातादेखि कोरोना संक्रमणको दर निरन्तर उकालो लाग्दै आएको छ। अहिले प्रदेशका ४ जनामा ओमिक्रोनको संक्रमण पनि पुष्टि भइसकेको छ। यसरी गम्भीर प्रकृती संक्रमितको संख्या बढ्दै गए उपचारमा समस्या हुने देखिने छ। तर प्रदेश सरकार यस विषयमा गम्भीर बनेको छैन।

तर प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्राविधिक कारणले भेन्टिलेटर सञ्चालन गर्न समय लागेको बताए। ‘केही प्राविधिक कारणले समय लगोको हो,’ उनले भने, ‘अब छिट्टै उक्त भेन्टिलेटरहरु सञ्चालनमा आउँछन्।’

प्रदेश सरकारले खरिद गरेका भेन्टिलेटर सेती, महाकाली र टीकापुर अस्पतालमा मात्रै सञ्चालनमा छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस