कैलालीमा अपराध अनुसन्धानमा प्रहरी निरन्तर असफल
धनगढीः कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का अर्जुन दासको घाँटी रेटेर हत्या भएको डेढ महिना पुगेको छ। स्थानीय युवाको समूहले उनको घाँटी रेटेर हत्या गरेको प्रहरीको अनुमान छ। तर हत्यामा संलग्न एकजनालाई पनि पक्राउ गर्न नसक्दा प्रहरीदे हत्याको समेत पत्ता लगाउन सकेको छैन। हत्यामा संलग्न भनिएका ५ जना भारतमा लुकेर बसेको प्रहरीको अनुमान छ। तर उनीहरु पक्राउ नपर्दा प्रहरीको भूमिकामाथि आशंका लाग्न थालेको अर्जुनका बुवा कपुरे दास बताउँछन्। ‘घटना भएको एक महिनाभन्दा बढी समय हुँदा पनि कुनै सुनुवाई भएको छैन। अनुसन्धानमा प्रहरीको लापरबाही देखिएको छ’ उनले भने।
गत कात्तिक २३ गते कैलालीका भूपेन्द्र बडुवालको पनि हत्या भयो। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का बडुवालको लम्की, चिसापानी र टीकापुरमा सक्रिय अपराधिक समूहले हत्या गरेको थियो। उक्त घटनामा संलग्न भएको भन्दै मृतक परिवारले २१ जनाको नाममा जाहेरी दर्ता गरेको थियो। तर अहिलेसम्म १२ जना मात्रै प्रहरीको नियन्त्रणमा आएका छन्। मुख्य योजनाकारसहित बाँकी ९ जना भने अझै फरार रहेका छन्। उनीहरु राजनीतिक दलका नेताको संरक्षणमा रहेको गुनासो मृतक भूपेन्द्रका आफन्त भगत बडुवालको छ। उनी भन्छन्, ‘यो घटनामा प्रहरी असफल नै देखिएको छ। प्रहरीलाई विभिन्न दलका नेताले दबाब दिएको कुरा पनि सुनिन थालेको छ।’
दुवै हत्याका आरोपित घटनाको केही दिनसम्म कैलालीमै रहेको प्रहरीले नै बताउने गरेको छ। उनीहरु सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहने धनगढी हुँदै त्रिनगर–गौरीफन्टा नाका भएर भारत गएको पनि प्रहरी अधिकारी नै बताउँछन्। तर पनि प्रहरी आरोपित पक्राउ गर्न असफल हुँदै आएको छ। यसले कैलाली प्रहरीको वर्तमान नेतृत्वमाथि नै प्रश्न उठाएको छ।
तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले भने उनीहरुको खोजी कार्य भइरहेको बताउँछन्। ‘सबैको पहिचान भएको छ। दुवै घटनाका आरोपित भारतमा छन् भन्ने छ। तर उनीहरुको बसेको ठाउँ पत्ता लागेको छैन। हामी सबै संयन्त्र लगाएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
जिल्लामा जघन्य अपराधमा संलग्न भएकाहरु पक्राउ नपर्नुमा राजनीतिक संरक्षणलाई कारण मनिएको छ।