सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा यस्तो छ कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड

२०७८ माघ १०, ०७:३५ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा गत पुस ३० गते कोरोना संक्रमित एक महिलाको मृत्यु भयो। सेती प्रादेशिक अस्पतालमा उपचाररत ५३ वर्षीया महिलाको मृत्यु भएको हो। उनलाई कोरोनासंगै मृगौला सम्बन्धि पनि समस्या थियो। अस्पतालका अनुसार उनले कोरोना विरद्धको  खोप पनि लगाएकी थिइनन्।

माघ ७ गते निमोनिया र मुटु सम्बन्धि समस्या भएका ५२ वर्षीय अर्का संक्रमितको पनि मृत्यु भयो। उनले पनि कोरोना भाइरस विरुद्धको खोप नलगाएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। ‘पछिल्लोपटक मृत्यु भएकाले कोरोना विरुद्धको खोप लगाएको देखिएको छैन,’ उनले भने, ‘खोप लगाएका संक्रमितलाई जोखिम कम देखिएको छ।’

सुदूरपश्चिममै एकजना कोरोना संक्रमितको होम आइसोलेसनमा पनि मृत्यु भएको छ। पछिल्लोपटक मृत्यु भएका तीन जना संक्रमितले नै कोरोना भाइरस विरुद्धको खोप नलगाएको बताइएको छ। उपचारमा रहेका तर खोप नलगाएका संक्रमितलाई बढी समस्या हुने गरेको बताइएको छ।

अहिले प्रदेशमा सबैभन्दा बढी संक्रमित कैलालीमा छन्। कैलालीमा खोप अभियानलाई थप सहज बनाएको दाबी जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीको छ। ‘हामीले खोपकार्ड अनिवार्य बनाउनुको कारण नै सबैले खोप लगाउन भन्ने हो,’ उनले भने, ‘अहिले पनि कोरोनाको खोपलाई प्राथमिकता दिएका छौं।’

चिकित्सकहरुका अनुसार पनि अहिले कोरोना भाइरस विरुद्धको खोपले विशेष गरी तीन वटा फाइदा गर्ने गरेको छ। खोपले रोगसँग लड्न सक्ने क्षमता बढाउने भएकाले संक्रमण कम हुने, संक्रमण भए पनि जोखिम कम हुने र मृत्यु दर पनि कम हुने चिकित्सकले बताएका छन्। तर प्रदेशका अधिकांश नागरिकले अहिलेसम्म पनि कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा पनि लगाउन पाएका छैनन्। यसमा प्रदेश सरकारसँगै अन्य सम्बन्धित निकायले ध्यान दिनुपर्ने सुझाब फिजिसियन डा. शेरबहादुर कमरको छ। ‘खोपले मृत्यु दर कम गर्छ,’ उनले भने, ‘म सबैलाई खोप लगाउन आग्रह गर्छु।’

अहिले प्रदेशमा संक्रमण दर उच्च छ। तर गम्भीर प्रकृतीका संक्रमित भने धेरै कम छन्। कोरोना खोप लगाएकै कारण गम्भीर प्रकृतीका विरामीको संख्या नबढेको चिकित्सकको धारणा छ। कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस