सुदूरपश्चिमका स्वास्थ्यकर्मी नै संक्रमित, अस्पतालको सेवा प्रभावित
धनगढीः सुदूरपश्चिममा कोरोना भाइरसका संक्रमित संख्या प्रत्येक दिन बढ्दै गइरहेका छन्। भारतबाट प्रदेशमा फर्किएकासँगै अन्यलाई पनि धमाधम संक्रमण पुष्टि भइरहेको छ। जसकाकारण प्रदेशका स्वास्थ्य संस्थाहरुमा विरामी चाप बढेको छ। चिसोका कारण प्रदेशका अस्पतालमा विरामीको चाप बढेको स्वास्थ्यकर्मीहरुले बताइरहेका छन्।
७ पहाडी जिल्लाको ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पतालमा पनि केही दिनदेखि विरामीको चाप बढेको छ। त्यहाँ कार्यरत चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मीलाई पाि कोरोना भाइरसको संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए। ‘अहिले कोरोना भाइरसको संक्रमण देखिएपनि सेवा उपलब्ध भइरहेको छ। संक्रमण बढ्दै गएपछि समस्या हुनसक्छ’ उनले भने।
उता कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा कार्यरत २५ जना कर्मचारीलाई पनिसंक्रमण पुष्टि भएको छ। विशेषज्ञ डाक्टरसहित नर्सिङ स्टाप र सरसफाइ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। महाकालीलाई प्रदेश सरकारले प्रादेशिक अस्पताल घोषणा गरेपनि जनशक्ति र उपकरणको व्यवस्थापन गर्न सकेको थिएन। सोही कारण अहिले कार्यरत स्वास्थ्यकर्मी नै संक्रमित भएपछि उपचारमा समस्या भएको छ। कम जनशक्तिले सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको महाकाली प्रादेशिक अस्पतालका मेसु डा अर्जुन भट्टले बताए। ‘चिकित्सक नै संक्रमित भएपछि उपचारमा समस्या भएको छ। कसलाई कता खटाउने भन्ने समस्या बढी छ’ उनले भने।
सुदूरपश्चिमकै रेफेरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा पनि विरामीको चाप बढ्दै गएको छ। अस्थायी कोरोना अस्पताल पनि सञ्चालन गरेको सेतीमा विरामीको चाप बढ्दै गएको हो। सेतीमा कार्यरत विशेषज्ञ डाक्टरसहित २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुमध्ये केहीमा मात्रै लक्षण देखिएको अस्पतालले जनाएको छ।
उपचारमा समस्या हुन थालेपछि लक्षण नदेखिएका स्वाथ्यकर्मी ७ दिन आइसोलेसनमा बसेर काममा फर्किरहेका छन्। सरकारको मापदण्ड अनुसार नै ७ दिनपछि काममा बोलाउने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनले भने, ‘लक्षण नदेखिएकाहरु मन्त्रिपरिषद्को निर्णय अनुसार काममा फर्किरहेका छन्। विरामीलाई सेवा सहज भने छैन।’
यस्तै प्रदेशका अन्य अस्पतालसँगै विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि विरामीको उपचारमा समस्या हुन थालेको अधिकारीहरुले बताएका छन्।