सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरोन्नतिका लागि सर्भे सुरु, समन्वय गर्न स्थानीयको माग

२०७८ माघ ७, ०८:१५ रोशन भट्ट

धनगढीः धनगढी विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भएपछि नागरिक उड्यन प्राधिकरणले सर्भेको काम सुरु गरेको छ। विमानस्थल स्तरोन्नति गर्ने योजना सार्वजनिक भएको लामो समयपछि सर्भेका लागि प्राविधिक टोली धनगढी पुगेको हो। 

गत पुस ११ गते बसेको नेपाल नागरिक उड्यन प्राधिकरणको बैठकले विमानस्थलाका लागि बजेट विनियोजन गरेपछि सर्भेको काम अगाडि बढेको हो। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले पनि सर्भेको काम अगाडि बढेको बताए। ‘पहिलो चरणमा के–कति जग्गा अधिग्रहण हुन्छ भनेर अवलोकन भएको छ,’ उनले भने, ‘प्रभावित हुन सक्ने स्थानीयसँग समन्वय गरर नै काम अगाडि बड्छ।’

सरकारले धनगढी विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण हुने विषयलाई लामो समयदेखि अनिर्णयको बन्दी बनाएको थियो। तर पछिल्लोपटक भने दुई सय ५० विघा जग्गा अधिग्रहण हुने भनिएको छ। सोहीअनुसार सर्भेको काम पनि सुरु गरिएको हो। आफुहरुसँग कुनै समन्वय नै नभएका कारण अवरोध जनाएको विमानस्थाल छेउका स्थानीय समेत रहेका बुद्ध टोल सुधार समतिका अध्यक्ष महेन्द्र विष्टले बताए। ‘हामी विमानस्थल बन्नु हुँदैन भन्ने पक्षमा छैनौ,’ उनले भने, ‘हाम्रो व्यवस्थापन भने उचित रुपमा हुनुपर्छ।’

विमानस्थल विस्तारका लागि आफुहरुले पनि सहयोग गर्ने बताउँदै आएका स्थानीयले जग्गा अधिग्रहण गर्दा प्रभावित समुदायसंग समन्वय गर्नुपर्ने बताएका हुन्। त्यहाँबाट विस्थापित हुने स्थानीयको उचित व्यवस्थापन र जग्गाको मुआब्जाको सवालमा सम्बन्धित निकायसँग छलफल गर्ने विमानस्थल छेउका अर्का स्थानीय नन्दा पन्तले बताइन। ‘हामी विकास विरोधी होइनौं,’ उनले भनिन्, ‘हामीले पाउने मुआब्जा के कस्तो हो ? त्यो विषयमा पहिला छलफल हुनुपर्छ।’

यता नागरिक उड्यन प्राधिकरणले भने जग्गा अधिग्रहणमा स्थानीयको सहयोग अपरिहार्य रहेको र आवश्यक समन्वय पनि हुने जनाएको छ। अहिले एउटा टोलीलाई सर्भेमा खटाउने र अर्को टोलीलाई छलफलमा सक्रिय बनाउने तयारी प्राधिकरणको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस