सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सुधार गृहमा थेगि नसक्नु भिड, यसरी बढ्छन् लागूऔषध प्रयोगकर्ता

२०७८ माघ २, ११:४९ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा लागूऔषधको जालो फैलिँदै गएपछि सुधार गृहमा उपचार गर्नेको संख्या पनि बढ्न हुन थालेको छ। प्रदेशमा सेवनकर्ता बढेपछि सुधार गृहमा जाने संख्यामा पनि वृद्धि भएको हो। अहिले कैलाली र कञ्चनपुरमा आधा दर्जन भन्दा बढी सुधार गृह सञ्चालनमा छन्। लामो समयदेखि कुलतमा फसेकाको उपचार गर्दै आएको धनगढीको रिचमण्ड फेलोसिपमा पनि अहिले २४ जना लागूऔषध प्रयोगकर्ताको उपचार भइरहेको छ। 

यस्तै अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा युवा/युवती गरी ४४ जना बढीको उपचार भइरहेको छ। प्रदेशमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएपछि उपचार गर्न आउनेको संख्या समेत बढ्दै गएको अत्तरियाको उग्रतारा सुधार गृहका सञ्चालक विमलकुमार भट्टले बताए। ‘जिल्लामा सञ्चालित सबै सुधार गृहमा उपचार गराउनेको संख्या त्यति नै छ। लागूऔषध नियन्त्रणमा सबैले ध्यान दिनुपर्छ’ उनले भने।

धनगढीमा लागूऔषधमा फसेकाको उपचार गर्नका लागि नयाँ सुधार गृह खोल्ने क्रम समेत जारी छ। केही समय अगाडि धनगढीकै युवाले पहिरो आरम्भ नामक सुधार गृह सञ्चालनमा ल्याएका छन्। उक्त सुधार गृहमा पनि २४ जनाको उपचार हुँदैछ। पछिल्लो समय युवा जनशक्ति कुलतमा फस्न थालेपछि यसको नियन्त्रणमा टेवा पुगाउने उदेश्यले सुधार गृहहरु सञ्चालन गरिएका हुन्। 

लागूऔषध सेवन गर्नकै लागि पहिलो प्रयोगकर्ताले साथी थप्दै जाँदा कैलाली–कञ्चनपुर लागूऔषधको अखडा बन्न थालेको पहिलो आरम्भ सुधार गृहका सञ्चालक गजेन्द्र शाहीले बताए। ‘एक जना सेवनकर्ताले आर्थिक स्रोत जुटाउनका लागि ५ जनालाई संलग्न गराउँछ। यसरी नै ५ जनाले २५ लाई जोडिरहेको हुन्छ’ उनले भने।  धनगढीमा लागूऔषधको अवस्था डरलाग्दो रहेको उनले बताए। 

कैलालीको अत्तरिया र टीकापुर लगायतका स्थानमा पनि सुधार गृह गरेका छन्। लागूऔषध सेवनकर्ताको अखडा मानिएको कञ्चनपुरमा पनि एक सुधार गृह सञ्चालनमा छ। त्यहाँको सहारा पुर्नःस्थापना केन्द्रमा समेत अहिले २५ जनाको उपचार भइरहेको छ। केन्द्रका सञ्चालक आनन्द शाहले जिल्लामा लागूऔषध प्रयोकर्ताको संख्यामा कमी आउन नसकेको बताए। ‘खुल्ला सीमानाका कारण सहजै वारी ल्याउन सकिन्छ। यसकारण नै प्रदेशमा लागूऔषधको जालो फैलिरहेको छ’, उनले भने।

यसरी कैलाली–कञ्चनपुरमा मात्रै नभएर सुदूरका पहाडी जिल्लामा पनि प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। पहाडबाट पनि प्रयोगकर्ता उपचारको लागि तराई आउने गरेका छन्। पछिल्लो पटक महिला प्रयोगकर्ताको संख्यामा पनि वृद्धि हुँदै गएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस