सुदूरपश्चिममा फैलियो लागूऔषधको जालो : युवा अपराधमा, युवती देह व्यापारमा
धनगढीः सुदूरपश्चिममा लागूऔषध प्रयोगकर्ताको जालो डरलाग्दो अवस्थामा फैलिरहेको छ। तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर यसको अखडा बन्न थालेका छन्।
भारतसँगको खुल्ला सीमा नाका भएकै कारण यसको प्रभाव बढ्दै गएको विभिन्न निकायले बताउँदै आएका छन्। लागूऔषधले सेवनकर्ता सँगै सिङगो समाजलाई पनि प्रत्यक्ष असर गरिरहेको छ। केही समय अगाडिसम्म पुरुष प्रयोगकर्ता मात्रै रहेको प्रदेशमा अहिले महिलाको संख्या पनि बढ्दै गएको छ।
गलत संगतका कारण किशोर अवस्थाका युवतीहरु कुलतमा फस्ने गरेका छन्। प्रदेशका महिला लागूऔषध प्रयोगकर्ता देहव्यापारमा पनि संलग्न रहेको धनगढीमा सुधार गृह सञ्चालन गर्दै आएका रामबहादुर रजकले बताए। ‘लागूऔषधको कुलतमा फसेका युवतीहरु यौन व्यवसायमा पनि लागेका छन्।
कुलतको भोक भेटाउनका लागि उनीहरु यसतर्फ लाग्ने गरको देखिन्छ,’ उनले भने। सुदूरपश्चिममा प्रयोगकर्ताको तथ्यांक नभए पनि यसमा सुधार हुने अवस्था भने देखिएको छैन।
अहिले कैलाली र कञ्चनपुरबाट दैनिकजसो लागूऔषधसहित केही प्रयोगकर्ता पनि प्रहरीको नियन्त्रणमा परिरहेका छन्। यसले पनि प्रदेशमा लागूऔषधको जालो फैलिएको पुष्टि हुन्छ। लागूऔषधमा पनि अहिले अत्याधिक रुपमा खैरो हिरोइन प्रयोग भइरहेको छ। यसले गर्दा अधिकांश अपराधिक क्रियाकलाहरु पनि बढेका छन्।
कैलाली र कञ्चनपुरमा त अधिकांश हत्याका घटनामा लागूऔषध प्रयोगकर्ताको नै संलग्नता देखिन थालेको छ। जिल्लामा लागूऔषधका मुद्दासमेत बढेको कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।
‘लागूऔषधका मुद्दाहरु बढी नै दर्ता हुने गरेका छन्। सेवनकर्ता केही अपराधमा पनि जोडिएका छन्,’ उनले भने। लागूऔषध प्रयोगकर्ता पहिलो चरणमा आर्थिक स्रोत जुटाउनका लागि चोरीमा लाग्ने गरेको देखिएको छ।
चोरीबाट सुरु हुने अपराधको श्रृङ्खला सार्वजनिक हित विरुद्धको कसुर हुँदै हत्या र बलात्कारसम्म पुग्ने गरेको छ। पछिल्लोपटक कैलालीको पूर्वी क्षेत्र जानकी गाउँपालिकामा लागूऔषधकै कारण अर्जुन दासको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि जघन्य अपराधमा कुलतमा फसेका युवाहरु संलग्न रहेको बताए। ‘लागूऔषध प्रयोग गर्नु आफैमा अपराध हो। आर्थिक अभाव भएपछि चोरी गर्नेतर्फ पनि लागेका छन्।
नशाकै झोकमा जघन्य अपराध पनि हुने गरेको छ,’ उनले भने। सुदूरपश्चिममा लागूऔषधको जालो भत्काउन नसकिएकै कारण सामान्य चोरी डकैती हुँदै जघन्य अपराधका घटनाहरु पनि बढ्दै गएको प्रदेशवासीले बताएका छन्।