सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहयात्रा टुङ्गयाउन अदालत पुगेको जोडी, यसरी मिलेर फर्किए

२०७८ पुष १९, ०४:२४ आशिष मल्ल

धनगढी: डडेल्धुराका रोहित र ताराको विस २०६५ मा मागी विवाह भयो। बिहेपछि उनको परिवारमा २ छोरी जन्मिए। हाल जेठी छोरी १२ वर्षकी र कान्छी छोरी ९ वर्षकी भइन्। तर हालसम्म आइपुग्दा ती दम्पतीबीचको सम्बन्धमा दरार आइसकेको थियो। उनीहरु सम्बन्धलाई टुङग्याउने सम्ममा पुगेका थिए।

मायाप्रेमले चलिरहेको सम्बन्ध कसरी टुक्रिन पुग्यो त ? यसको सुरुवात त्यो बेला भयो जब डडेल्धुराको नवदुर्गा गाउँपालिकाबाट रोहित ऐर बैदेशिक रोजगारीका लागि मलेशिया गए। घरमा आर्थिक संकट आइसकेपछि ८ वर्षअघि उनी मलेशिया हिँडेका थिए। त्यहाँ गइसकेपछि करिब २ वर्षपछि उनकी पत्नी ताराले घरबाट छुट्टिएर बसेको खबर रोहितले पाएको भनी जिल्ला अदालतमा पेश गरेको मुद्धामा उल्लेख गरेका छन्। त्यति मात्रै होइन ताराले सासु–ससुराको हेरचाह नगर्ने र विदेशबाट पठाएको रकमले तिर्नुपर्ने ऋण नतिरी मोजमस्ती गरेको कुरा पनि रोहितले फिरादमा उल्लेख गरेका छन्। 

करिब ८ वर्षपछि गत वर्ष माघमा घर फर्किएको आफूसँग राम्रोसँग बोलचाल नगर्ने, खाना पकाएर आफू मात्रै खाने, कोठामा आउँदा ढोका बन्द गरिदिने, परस्त्रीसँगको सम्बन्धबारे शंका गर्ने र अपरिचित व्यक्तिको सहयोगले घरबाट समेत निकाला गरेको आरोप रोहितले लगाएका थिए। ती सबै आरोप लगाउँदै रोहितले मुलुकी देवानी संहिता २०७४ को दफा ९४(ख) र (ग) अनुसार सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गराएका थिए।  

उता ताराले भने आफूमाथि लगाइएका सबै आरोप झु्टटा भएको भन्दै जिल्ला अदालतमा प्रतिउत्तर दिएकी थिइन्। उनले रोहितले लगाएका सम्पूर्ण आरोप कपोकल्पित र झुट्टा भएको भन्दै उल्टै रोहितले मलेशिया गएको २ महिनापछि फोन सम्पर्क कम गरेको भनी प्रतिउत्तरमा उल्लेख गरेकी थिइन््। साथै उनले उल्टै रोहितले आफ्ना आमाबुवालाई भनेर आफूलाई घरबाट निकाल्न खोज्दा गाउँलेको सहयोगबाट घरको एउटा कोठामा बस्न दिइएको बताएकी थिइन्। यस्तै रोहित घर आइसकेपछि आफूले कुनै प्रकारको दुव्र्यवहार नगरेको समेत ताराले स्पष्ट पारेकी थिइन्। उनले लोग्नेस्वास्नीबीच सामान्य मनमुटाव हुनु स्वभाविक भएको भन्दै छोरीहरुको भविष्यको लागि र आफूले सम्बन्ध बिच्छेद गर्न विवाह नगरेकाले आफूहरुको सम्बन्ध कायम राखिपाउ भनि अदालत सामू प्रतिउत्तर दिएकी थिइन्। 

यसरी ताराको प्रतिउत्तर आइसकेपछि रोहितको मन पग्लियो। अदालतमा फिराद र प्रतिउत्तरपछि कानुन व्यवसायी तथा समुदायका मान्छेहरुले दुवैसँग छलफल गरेका थिए। उक्त मुद्धाका लागि दुवै पक्षका साक्षी र कानुन व्यवसायीले ३ दिनसम्म छलफल गरेको रोहितको पक्षबाट वकालत गरेका अधिवक्ता लालबहादुर जाग्रीले बताए। ‘कानुन व्यवसायी र त्यस समुदायका मानिसहरुबीच ३ दिनसम्म छलफल भयो र अन्त्यमा रोहित ऐर सहमत भए’ उनले भने। 

त्यसपछि उनले(रोहित) र ताराले मेलमिलापका लागि अदालतमा संयुक्त निवेदन दिए। सोही निवेदन उपर सुनुवाइ गर्दै जिल्ला अदालत डडेल्धुराका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायले मुलुकी देवानी संहिता २०७४ अनुसार नै मेलमिलाप फैसला सुनाएका छन्।  फैसलापछि ऐर दम्पतीले आफ्ना दाबी र जिकिर परित्याग गरि पुनः सुःख दुःख परस्परमा साटासाट गर्दै दाम्पत्य जीवन सुमधुर रुपमा अघि बढाउने बाँचासहित घर फर्किएका छन्। घर जानुपूर्व उनीहरुले जिल्ला अदालतको प्राङ्गणमा संयुक्त फोटो खिचाएका थिए।  

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस