कैलालीमा सिसी क्यामेरा छन्, प्रयोग छैन, अपराध अनुसन्धानमा चुनौती
धनगढीः शुक्रबार राति धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–१ स्थित मनहरा पुल नजिक दुर्घटना भयो। त्यहाँ गाडीको ठक्करबाट एकजना युवकको ज्यान गयो। अन्दाजी २५ वर्षीय ती युवकलाई गाडीले कुल्चेर चिन्नै नसकिने अवस्था बनाएको प्रहरीले जनाएको छ। ज्यान गुमाउने युवकको अहिलेसम्म सनाखत हुन सकेको छैन।
प्रहरीका अनुसार मृतकलाई ठक्कर दिने गाडीको समेत पहिचान भएको छैन। तर दुर्घटना भएको स्थानमै सिसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘उक्त दुर्घटना भएको स्थान नजिकै सिसी क्यामेरा जडार गरिएको थियो,’ उनले भने, ‘क्यामेरा बिग्रेकै कारण अनुसन्धान गर्न समस्या भएको छ।’
धनगढीको मुख्य बजारसहित मोहनापुल–अत्तरिया ६ लेन सडकको विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। पूर्वपश्चिम राजमार्गको कैलाली खण्डमा समेत दर्जन बढी स्टेशनमा क्यामेरा लगाइएको छ। जिल्ला प्रहरी कार्यालयसहित मातहतका निकायले निगरानी राख्ने गरी जडान गरिएका सिसी क्यामेराहरु पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्। जसका कारण अपराध अनुसन्धानमा चुनौती थपिएको प्रहरीले नै स्वीकार गरेको छ।
लाखौ लगानी गरेर जडान भएका क्यामेरा नियमित सञ्चालन गर्न पनि बेवास्ता भइरहेको छ। विगतमा उद्योग वाणिज्य संघ लगायतका विभिन्न निकायले सिसी क्यामेरा जडान गरेका थिए। अहिले सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रलयले पूर्वपश्चिम राजमार्गसहित गौरीफन्टा नाकादेखि अत्तरिया चोकसम्म क्यामेरा जडान गरेको छ।
करोड बढी लगानीमा जडान भएका क्यामेरा पूर्ण रुपमा सञ्चालन गर्न भने मन्त्रालय उदासीन देखिएको छ। तर प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले भने जडान गरेका क्यामेराको निगरानी प्रहरीले गर्ने गरेको बताइन। ‘एक वर्षसम्म मर्मतको जिम्मा जडान गर्ने कम्पनीको हो,’ उनले भनिन्, ‘प्रदेश सरकार, स्थानीय तहले पनि जिम्मेवारी लिनुपर्छ।’
सिसी क्यामेरा जडार गरेर अलपत्र छाड्ने प्रवृतिका कारण सवारी दुर्घटनासँगै चोरी डकैती लगायतका अपराधिक क्रियाकलापमा संलग्न हुनेहरुको पहिचान गर्न मुस्किल हुने गरेको छ।