सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमिक्रोन त्रास : गौरीफन्टा नाकामा यसरी हुँदैछ आवागमन

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर १८, ०२:१४ रोशन भट्ट

धनगढीः सुदूरपश्चिममा कोरोना भइरसको संक्रमण भारतबाट निर्वाध आवागमन हुँदा समुदाय स्तरमा फैलिएको थियो। क्वारेन्टिन र आइसोलेसन विभिन्न ठाउँमा स्थापना गरिको भए पनि भारतबाट फर्कने नेपालीको व्यवस्थापन हुन नसक्दा नै संक्रमण फैलिएको सरकारी निकायले नै स्वीकार गर्दै आएका छन्।

अहिले पनि विश्वका केही मुलुकमा कोरोना भाइरसको नयाँ ओमिक्रोन नामक भेरियन्ट देखा परेको छ। त्यसका केही संक्रमितहरु भारतमा पनि देखिएका छन्। उक्त भेरियन्टलाई नेपालमा फैलिन नदिनका लागि पनि नाकामा कोरोना परीक्षण भइरहेको छ। भारतको पुनाबाट स्वदेश फर्किका टेकबहादुर भुसालले नाकामै कोरोना परीक्षण भइरहेको बताए।

‘कोरोना परीक्षणका लागि नमूना लिइएको छ,’ उनले भने, ‘रिपोर्ट आएपछि जानुहोला भनेका छन्।’ अहिले त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक सयौं नेपाली स्वदेश फर्किरहेका छन्। उनीहरुको नाकामै स्थापना भएको हेल्थ डेस्कमार्फत कोरोना परीक्षण भइरहेको छ।

स्वदेश फर्किनेलाई नाकामा केही समय लाग्ने भए पनि कोरोना परीक्षण भइरहेको भारतबाट फर्किएका बलबहादुर रावलले बताए। ‘नाकामा केही समय त लाग्ने गरेको छ,’ उनले भने, ‘परीक्षणपछि मात्रै जान दिन्छन्।’ कैलालीका र कञ्चनपुरका स्थानीय तह, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन लगायत अन्य सरोकारवालाले नाकामै संयुक्त रुपमा हेल्थ डेस्क स्थापना गरेका छन्।

उक्त हेल्थ डेस्कमार्फत नै कोरोना परीक्षण भइरहेको छ भने कोरोना भाइरस विरुद्धको खोप लगाउने काम पनि भइरहेको छ। विगतमा नाका व्यवस्थापनमै उदासीनता हुँदा कोरोनाको संक्रमण फैलिएको थियो। त्यसकारण पनि ओमिक्रोनको संक्रमण फैलिन नदिन नाकामा कडाइ गर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

‘ओमिक्रोनका संक्रमित भारतमा समेत देखिएपछि हामीले कडाई गरेका छौं,’ उनले भने, ‘भारतबाट आउनेको कोरोना परीक्षण भइरहेको छ।’ नाकामै खोपको पनि व्यवस्था गरिएको उनले बताए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस