सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल वरपरका स्थानीयले सुख पाउने कहिले, जग्गा अधिग्रहणको हल्ला उहिले

२०७८ मंसिर १६, ०६:४० रोशन भट्ट

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की सरस्वती पडालको घर गेटा विमानस्थल नजिकै छ। विगत लामोसमयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको पडालको परिवार बेरोजगार छ। उनको परिवारले घरसँगै जोडिएको जग्गा धितो राखेर व्यापार गर्ने योजना बनाएको १० वर्ष भयो। तर उक्त क्षेत्रको जग्गाको कारोबार बैंकले पनि नगर्ने गरेका कारण ऋण पास हुने गरेको छैन। 

विमानस्थलले जग्गा अधिग्रहण गर्ने चर्चाले ऋण पास नभएको पडालले बताइन। ‘न बिक्रि हुन्छ न बैंकले लोन दिन मान्छ केही काम गरु भने,’ उनले भनिन्, ‘१० वर्ष भयो यो हल्ला चलेको। न जग्गा लिएको छ न घर बनाउन दिएको छ।’
गोमादेवी उपाध्यायको परिवार पनि विमानस्थलको मुल गेट नजिकै बस्न थालेको ३० वर्ष भयो। उनको बस्ने घर पनि अन्न उत्पादन गर्ने खेतसँगै जोडिएको छ।

उनको परिवारले पनि जग्गा अधिग्रहण हुने विषयको बारेमा सुन्न थालेको ६ वर्षभन्दा बढी भयो। जसका कारण गोमाको परिवारले थप संरचना निर्माण गर्न पाएका छैन। अन्न उत्पादन गर्ने खेत बिक्री समेत हुने गरेको छैन। उक्त स्थानमा बस्ती समेत बढ्न नसकेको गोमाले बताइन। ‘यो जग्गामा व्यापार/व्यवसाय गर्न पनि पाइएको छैन। यसको टुङ्गो छिटो लगाउनुपर्छ हामीलाई समस्या भइरहेको छ’ उनले भनिन्।

नेपाल नागरिक उड्डयन प्रधिकरण भने विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने बताइरहेको छ। संस्कृत, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले यसै साता धनगढी पुगेर जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने दाबी गरेका छन्। तर कुन क्षेत्रमा कति अधिग्रहण हुने विषयको भने टुङ्गो लागेको छैन। स्थानीयलाई झुक्याउँदै आएको सरकारले छिटो ठोस निर्णय गर्नुपर्ने अर्का स्थानीय टेकबहादुर खत्रीले बताए। ‘विमानस्थल नजिकै हाम्रो पनि जग्गा छ,’ उनले भने, ‘अधिग्रहण हुने चर्चाकै कारण हाम्रो त्यो जग्गा न त बिक्रि भएको छ, न त त्यो गाउँमा घर बनाउन पाएका छौं। हामीलाई अन्यौलमा परेका छ सरकारले।’

धनगढी विमानस्थलको गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको तीन चरणमा निर्माण कार्य गरिने उल्लेख छ। पहिलो चरणमा निर्माणको लागि १ अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६ अर्ब ८ करोड लगानी आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ। त्यसका लागि स्थानीयको २२८ विघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस