सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोनाको ’ओमिक्रोन’ भेरियन्टको जोखिम कति ? के हुँदैछ तयारी ?

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर १३, ०३:०६ रोशन भट्ट

धनगढी : विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९) नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ। डब्यूचओले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। 

ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ। दक्षिण अफ्रिका र क्यानडासहित विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसकै नयाँ भेरियन्ट सुदूरपश्चिममा पनि फैलिने सक्ने खतरा छ। 

विगतमा कोरोना भाइरसको महामारी हुँदा देशका अन्य नाकाको तुलनामा सबैभन्दा बढी पश्चिमी सीमा नाका भएर आवागमन भएको थियो। सो समयमा त्रिनगर र गड्डाचौकी नाका भएर भित्रिनेको संख्या दैनिक हजारौं थियो। अहिले पनि निर्वाध रुपमा आवागमन भइरहेको छ भने सुरक्षा सतर्कता अपनाइएको छैन। 

भारतमा ’ओमिक्रोन’को संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने देखिएको छ। आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय नलाग्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए। ‘हङकङमा कोभिडको नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि आउँदैन भन्न सकिन्न,’ उनले भने, ‘यसको बारेमा विज्ञहरुले अध्ययन गरिरहेका छन्।’

कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि ओमिक्रोन भेरियन्टको संक्रमण हुने चेतावनी चिकित्सको छ। हाल उपलब्ध अधिकांश खोप कोरोनाको स्पाइक जीनलाई नै लक्षित गरेर विकास गरिएका छन्। तर खोप लगाएपछि बनेका एन्टिबडीले स्पाइक जीनमा अत्याधिक स्वरूप परिवर्तन भए त्यसको पहिचान गरी निष्क्रिय पार्न सक्ने सम्भावना कम हुनेछ। अर्थात्, खोपको हाल स्थापित प्रभावकारिताको स्तर खस्कन सक्ने सम्भावना रहन्छ। त्यसैले कोरोनाविरुद्धको खोपले पनि काम गर्दैन की भन्ने प्रश्न उब्जिएको हो। 

सुदूरपश्चिममा भने पूर्ण रुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण झनै संक्रमण फैलिने खतरा छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको संक्रमण फैलिए नियन्त्रण गर्न थप चुनौती हुने देखिएको छ। 

संघीय स्वास्थ्य मन्त्रालयको निर्देशनपछि मात्रै तयारी गर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थीले बताए। ‘अहिले हाम्रो तयारी केही छैन,’ उनले भने, ‘संघीय सरकारको निर्देशनपछि मात्रै हाम्रो तयारी हुन्छ।’ सुदूरपश्चिम अस्पतालमा अहिलेसम्म पनि विगतमा खरिद भएका आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट सञ्चालन हुन सकेका छैनन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस