सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कृषि हाटबजारको आम्दानीमाथि गिद्धेदृष्टि

२०७८ मंसिर ९, ०६:२५ रोशन भट्ट

धनगढीः धनगढी उपमहानगरपालिको कार्यालय अगाडि रहेको त्रिनगर कृषि उपज हाटबजार सञ्चालन भएको जग्गा त्रिनगर माध्यमिक विद्यालयको हो। उक्त जग्गामा हाटबजार सञ्चालन गर्न आर्थिक वर्ष २०७०/७१ देखि १० वर्षका लागि सिर्जनशिल समाजको सिर्जना (सीसीएस) नामक संस्थासँग ठेक्का सम्झौता भएको थियो। 

वार्षिक रुपमा कूल आम्दानीको ७० प्रतिशत विद्यालयलाई उपलब्ध गराउने गरी सम्झौता भए पनि कार्यान्वयन नभएको आरोप त्रिनगर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम विसीको छ। ‘७० प्रतिशत त्रिनगर स्कुलले पाउनुपर्ने भन्ने सम्झौता छ। तर स्कुलले उठेको रकमको २५ प्रतिशत पनि पाएको छैन’ उनले भने। तर वर्षभरीमा उक्त हाटबजारबाट ३० लाख बढी रकम संकलन हुँदै आएको दाबी विसीको छ। 

त्रिनगर कृषि हाटबजारको ठेक्का सम्झौतामा धनगढी उपमहानगरपालिका, सीसीएस र विद्यालयको सहभागिता रहेको छ। उपमहानगरपालिकाले निर्धारण गरेको रकमको ७० प्रतिशत विद्यालयले पाउने भनिएको छ। भने, २५ प्रतिशत उपमहानगरपालिकाले नै पाउने भनिएको छ। र, बाँकी ५ प्रतिशत कृषक समूहलाई दिने सम्झौतामा उल्लेख छ। 

हालसम्म उपमहानगरपालिका र सीसीएसले कूल आम्दानीको अधिकांश हिस्सा हिनामिना गरेको आरोप लागेको छ। तर धनगढी उपमहानगरका प्रवक्ता सन्तोष मुड्भरीले लगानी गरेबाफत केही प्रतिशत मात्रै लिने गरेको बताए। ‘पछिल्लो पटक नविकरण नहुनुको कारण त्रिनगर र सीसीएस बीच केही प्रतिशत वृद्धि गर्नुपर्ने सवालमा कुरा नमिलेको हुनुपर्छ’ उनले भने। 

हाटबजार सञ्चालनका लागि प्रत्येक वर्ष सम्झौता नविकरण हुनुपर्ने हो। तर ३ वर्षदेखि सम्झौता पनि नविकरण हुन सकेको छैन। त्रिनगर हाटबजारबाट दैनिक रुपमा शुल्क उठाउने सीसीएसलाई उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा ७ लाख ६७ हजार बुझाउन भनेको छ। निर्धारित रकमभन्दा बढी संकलन भएपछि मात्रै सीसीएसले पाउने सम्झौता भएको छ। तर त्रिनगर माध्यमिक विद्यालयले भने उक्त हाटबजारबाट वार्षिक ३० लाख बढी आम्दानी हुने गरेको दाबी गरेको छ। आफूले ७० प्रतिशत पाउने भनिएको रकम पनि नपाएको विद्यालयको आरोप छ। 

यता सिर्जनशिल समाजको सिर्जना(सीसीएस) का अध्यक्ष प्रकाश विष्टले भने किसानलाई सहज रुपमा व्यवस्थापन गर्नका लागि आफूहरु त्यसमा लागेको बताएका छन्। ‘नविकरण गर्ने कस्तो हो भने, हामीले १० वर्षका लागि लिएको हो,’ उनले भने, ‘प्रत्येक वर्ष सम्झौता गर्ने भन्ने हो, हामीले पैसा भने अगाडि नै बुझाउने गरेका छौँ।’

त्रिनगर कृषि उपज हाटबजारमा हाल एक हजार भन्दा बढी किसान सूचीकृत छन्। जसमा हाटर बजारभित्र एक सय ४० वटा स्टलहरु छन् भने १० वटा सटरहरु निर्माण गरिएको छ। ती लगायत ठेलामा समान बेच्ने र कपडा बेच्नेहरुले पनि सीसीएसलाई शुल्क बुझाउदै आएका छन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस