सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शिक्षकको मनपरी, स्वीकृतिबीना धमाधम ‘पार्ट टाइम’ जागिर

२०७८ मंसिर ७, ०६:४३ रोशन भट्ट

धनगढीः शिक्षा नियमावलीको १३३(ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र समन्वय अधिकारीको स्वीकृति नलिएर आफू बहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने भनेर प्रष्ट रुपमा लेखिएको छ। तर धनगढीमा प्रविणता तहमा अध्यापन गराउँदै आएका थुप्रै शिक्षकले उक्त नियमको धज्जी उडाएका छन्। 

धनगढीमा एउटै शिक्षकले नियम विपरीत विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएपनि स्वीकृति लिएको देखिएको छैन। शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले आंशिक(पार्ट टाइम)का लागि स्वीकृती लिएको जानकारी आफुलाई नभएको बताए। ‘म आएपछि कसैले स्वीकृति लिएका छैनन्। म यो ठाउँमा पढाउछु, पार्ट टाइमका लागि अनुमति चाहियो भनेर कोही आएको छैन’ उनले भने।

धनगढी उप–महानगरपालिकाभित्र मात्रै १४ वटा विद्यालयले कक्षा ११ र १२ सञ्चालन गरेका छन्। उक्त मध्ये विद्यार्थी संख्या बढी भएका केही विद्यालयले पार्ट टाइम अर्थात आंशिक रुपमा केही पिरीयड पढाउने गरी शिक्षक भर्ना गर्दै आएका छन्। पार्ट टाइममा शिक्षक भर्ना गर्दा पनि आधारभूत सिद्धान्त पूरा गरिएको छैन। त्यसरी नियमविपरीत प्रतिस्पर्धाबीना शिक्षक भर्ना हुन थालेपछि योग्य व्यक्तिहरु ओझेलमा पर्न थालेका छन्। 

बढी विद्यार्थी संख्या भएको धनगढीको त्रिनगर माध्यामिक विद्यालयले त सूचना नै सार्वजनिक नगरी शिक्षक भर्ना गरेको छ। उता पञ्चोदय माध्यमिक विद्यालयले पनि पार्ट टाइम शिक्षक भर्ना गर्ने तयारी गरेको छ।  विद्यार्थी संख्या बढेपछि २ जना शिक्षकलाई पार्ट टाइममा राख्ने कुरा भइरहेको पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए। ‘व्यवस्थापन समितिको बैठक बसेपछि निर्णय हुन्छ। तर विद्यार्थीको पढाइ छुट्ने भएका कारण २ जना साथीलाई कक्षा सञ्चालन गरिदेऊ भनेर अनुरोध गरेको छु’ उनले भने।  

धनगढीका विद्यालयले सूचना नै सार्वजनिक नगरी सुटुक्क रुपमा शिक्षक भर्ना गर्दा पनि सरोकारवाला निकायले भने नियमन गर्न सकेका छैनन्। यस्तै शिक्षकहरुले स्वीकृति नलिएको विषयमा पनि नियमन भएको छैन। शिक्षा समन्वय इकाई र स्थानीय तह एक अर्कालाई दोष दिँदै पन्छिरहेका छन्। आशिंक रुपमा काम गर्नेगरी भर्ना भएका शिक्षकको सवालमा सम्बन्धित निकायले विवरणसमेत माग्ने गरेका छैनन्। त्यसकारण पनि सामुदायिक विद्यालय र शिक्षकहरुको बद्मासी बढ्दै गएको छ। 

शिक्षकले पार्ट टाइम कम गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखबाट अनुमति लिनुपर्ने धनगढी उप–महानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र बहादुर खातीले पनि बताए। ‘पार्ट टाइममा शिक्षक भर्ना गर्दा पनि प्रायोजन खुलाएर निवेदन माग गर्नुपर्छ,’ उनले भने, ‘के त पहिले नै सूचीकृतका लागि निवेदन दिएकाहरु मध्येबाट उत्कृष्टलाई छनोट गरिनुपर्छ।’

कुनै पनि सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले स्वीकृतबीना प्रतिस्पर्धा नगरेरै अर्कै ठाउँमा काम गरेर सुविधा लिनु राज्यकोषको दुरुपयोग भएको धारणा जानकारहरुको छ। शिक्षा नियमावलीमा पार्ट टाइम शिक्षक भर्नाको लागि प्रष्ट नियम नभएपनि सार्वजनिक खरिद नियमावली अनुसार भने कुनै पनि सरकारी सुविधा लिने व्यक्तिलाई प्रतिस्पर्धा गराएर मात्रै नियुक्त गर्नुपर्ने प्रावधान छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस