धनगढीका एटीएम नामका मात्रै, खाताबाट रकम काटेपनि आउँदैन नगद
धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेका निजी तथा सरकारी बैंकहरु सेवा प्रवाहमा उदासिन देखिएका छन्। छिटो र गुणस्तरीय सेवाको नारा लगाउँदै आएका बैंकहरुले प्रभावकारी सेवा दिन नसकेको सेवाग्राहीले गुनासो गरेका छन्।
धनगढीमा रहेका दर्जन बढी बैंकसँग एटीएम भए पनि सेवा प्रवाह भने गुणस्तरीय हुन सकेको छैन। नगद निकाल्न खोज्दा सबै प्रक्रिया पुरा हुने गरेको भएपनि अन्तिममा नगद नआउने समस्याले आजित भएका एकजना सेवाग्राही श्याम चौधरीले गुनासो गरे। ‘एटीएमबाट पैसा निकाल्दा सबै प्रक्रिया पुरा गर्दा पनि नगद नआउने समस्या हुन्छ। यसले गर्दा सेवाग्राहीले हैरानी खेप्नु परेको छ’ उनले भने।
नगद नआउने समस्यासँगै धनगढीकै एटीएममा अर्को एक समस्याबाट सेवाग्राही हैरान हुने गरेका छन्। एटीएम प्रयोगकर्ताले प्रक्रिया पुरा गर्दा खाताबाट रकम घट्ने गरेपनि नगद नआउने समस्याका कारण पनि सेवाग्राही हैरान भएका हुन्। निजी तथा सरकारी बैंकले आफ्नो सेवा प्रवाह सुधार नगर्दा सास्ती व्यहोर्नु परेको अर्का सेवाग्राही तारादेवी भट्टराइले बताइन्। ‘पैसा आएन, खाताबाट काट्यो। यस्तै झन्झटले मैले वाणिज्यको खाता नै बन्द गरे’ उनले भनिन्।
यता धनगढीका बैंकहरु भने विभिन्न बहाना बनाउँदै उक्त आरोपबाट पन्छिरहेका छन्। चौबिसै घण्टा एटीएमको सेवा उपलब्ध गराउन असफल बैंकहरुले सुस्त गतिको इन्टरनेटका कारण यस्तो समस्या देखिने गरेको दाबी गरेका छन्। एटीएम मेशिनमा कहीलेकाँही मात्रै नगद सकिने भए पनि अधिकांश समयमा इन्टरनेटकै कारण सेवा रोकिने गरेको जिकिर बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्टको छ। ‘हाम्रो यता इन्टरनेट सुस्त गतिको छ। यसकै कारण कहिलेकाँही यो समस्या देखिने गरेको छ,’ उनले भने, ‘एटीएमको सेवा पनि इन्टरनेटसँगै जोडिएको हुन्छ।’
बैंकको सेवामाथि नेपाल राष्ट्र बैंकले निगरानी राख्ने गरेको छ। बैंकहरुले गरेको प्रतिवद्धता अनुसार सेवा उपलब्ध भए/नभएको विषयमा राष्ट्र बैंकले नै निगरानी राख्ने गर्छ। सोहीकारण यस विषयमा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक शुवाषचन्द्र घिमिरेलाई सोध्दा उनी भन्छन्, ‘वर्षको एक चोटी हाम्रो अनुगमन हुन्छ। राष्ट्र बैंकको निर्देशन पालन नभएको भेटिएपछि आवश्यक कारबाही पनि हुने गरेको छ।’