सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका ७ जिल्ला जोड्ने मुख्य राजमार्गमा दर्जनौं धराप

२०७८ कार्तिक २७, ०६:२३ रोशन भट्ट

धनगढीः गत असोज ३१ गते रातिदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण सुदूर पहाड जोड्ने राजमार्गहरु अवरुद्ध भए। विशेषगरी ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग दर्जन बढी स्थानमा अवरुद्ध भएको थियो। ठाउँ–ठाउँमा खसेको पहिरोसँगै सडक भासिँदा राजमार्ग अवरुद्ध भएको थियो।  सामान्य रुपमा पहिरो पन्छाएर आवातजावत सहज बनाएको भएपनि राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न बेवास्ता भइरहेको बिहीबार मात्रै भीमदत्त राजमार्ग भएर धनगढी पुगेका तपराज भट्टले बताए। ‘बाटो जाम हुने र पहिरोले गर्दा भिरमा अड्किएका ढुङ्गा खस्ने जोखिम छ,’ उनले भने, ‘उक्त स्थानमा सरोकारवालाको पनि उपस्थिती हुँदैन, सडक पूर्णरुपमा सञ्चालन गरेर आवातजावत सहज बनाउनुपर्छ।’

भीमदत्त राजमार्गको गोदावरीदेखि फल्टुडेसम्म मर्मत गर्ने जिम्मा सडक डिभिजन कार्यालय महेन्द्रनगरको हो। उक्त खण्डमा पनि अधिकांश स्थानमा पहिरो खस्नुका साथै सडक भासिँएको छ। तर पहिरो खसेको स्थानमा एकतर्फी मात्रै सडक सञ्चालनमा छ। पहिरो पन्छाउने काम समेत भइरहेका कारण जोखिम पनि उत्तिकै छ। पहिरो खसेकै स्थान नजिकै अन्य सवरी समेत रोकिने गरेका छन्। सोही स्थानमा माथिबाट ढुङ्गा खस्ने जोखिम उच्च छ। 

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार अवरुद्ध भएको राजमार्ग पूर्णरुपमा सूचारु हुन अझै ८ महिना लाग्ने देखिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र प्रसाद भट्टले सडक पूर्णरुपमा मर्मत गर्न यो आर्थिक वर्ष नै लाग्ने बताए। ‘केही ठाउँका लागि हामीसँग बजेट पनि छैन। विभागसँग बजेट माग गरेका छौ। अहिले पहिरो पन्छाउने काम भएपनि पूर्णरुपमा मर्मत गर्न यो आर्थिक वर्षको अन्त्यसम्म समय लाग्छ’ उनले भने। 

भीमदत्त राजमार्गकै कैलालीको फल्टुडेदेखि डडेल्धुरासम्मको खण्डमा सडक डिभिजन कार्यालय डोटीले काम गर्दै आएको छ। उक्त स्थानमा भने सबैभन्दा बढी पहिरो खसेको थियो। नियमित सडक मर्मतको योजना अन्तरगत नै उक्त खण्डमा पनि काम भइरहेको छ। थप बजेटसहित नयाँ कार्यक्रम लागू नहुँदा सडक मर्मतमा समय लाग्ने देखिएको छ। 

सडक डिभिजन कार्यालय डोटीका प्रमुख योगेन्द्र अधिकारीले भने पहिरो पन्छाउने काम अब एक हप्ताभित्रै सकिने दाबी गरे। ‘संरचना बनाउनुपर्ने तथा अन्य निर्माण कार्य गर्नुपर्ने ठाउँमा समय लाग्छ,’ उनले भने, ‘त्यसका लागि बजेट आएपछि मात्रै हामी ठेक्का लगाउछौ।’ 

सडक पूर्णरुपमा सञ्चालन नहुँदा सुदूर पहाडको यात्रा गर्नेहरुले जोखिम मोल्न बाध्य छन्। जोखिम रहेको स्थानमा ट्राफिक लगायत साइबोर्डहरु समेत नहुँदा थप समस्या हुँदै आएको सवारी चालकहरुले गुनासो गरेका छन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस