सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवकको पलियामा रहस्यमय मृत्यु

२०७८ कार्तिक २४, ०५:५६ आशिष मल्ल

धनगढी: धनगढीका अनिल खाती त्रिभुवन माविको कक्षा १२ मा पढ्थे। १८ वर्षीय उनको परिवार धनगढी उपमहानगरपालिका–३ बोराडाँडीको केदार टोलमा बस्थ्यो।  कात्तिक १५ गते अनिल घरबाट नयाँ कपडा लगाएर निस्के। त्योबेला उनका बुवाआमा घरमा थिएनन्। तर उनी निस्केको छिमेकीले देखेका थिए। 

साँझसम्म उनी नफर्केपछि घरपरिवारले खोजी गर्न थाल्यो। खोजीकै क्रममा उनी एक विष्ट थरका साथीसँग धनगढीबाट ४४ किलोमिटरको दूरीमा रहेको सीमा पारी पलिया गएको भन्ने खुल्यो। ‘१६ गते ऊ(अनिल)सँग गएको साथी घर फर्कियो। उसैलाई सोध्दा दुवैजना पलिया गएको भन्ने बतायो’ अनिलका ठुलो बुवा बलबहादुर खातीले भने। 

उनका अनुसार ती विष्ट थरका साथीले आफूहरुले पलियामा लागुऔषधिको ४/४ ट्याबलेट खाएको बताएका थिए। ‘ट्याबलेट खाएपछि दुवैजना पलियाको बसपार्क गएका रहेछन्। त्यहाँ केही युवाहरुसँग झगडा भएको रहेछ। दुवैले कुटाइ खाएका रहेछन’ बलबहादुर भन्छन्, ‘अनिलको साथीले आफू बेहोस भएको र गौरीफन्टा पुगेपछि मात्रै होस आयो भन्छ। आफू गौरीफन्टा कसरी पुगे भन्ने पनि याद छैन उसलाई।’

उक्त घटनाबारे जानकारी पाएपछि अनिलको परिवार कात्तिक १७ गते पलिया पुग्यो। त्यहाँ प्रहरीलाई अनिलको फोटो देखाएर सोधपुछ गरेपछि प्रहरीले बलबहादुरका भतिजालाई १६ गते राति घाइते अवस्थामा चोकमा भेटाएको जानकारी दियो। ‘राति फेला पारेपछि त्यहाँको अस्पतालमा लगिएको थियो। त्यहाँबाट पनि लखीमपुर लगिएको रहेछ’ भारतीय प्रहरीलाई उदृत गर्दै बलबहादुर खातीले भने।

त्यो दिन पैसा अभावका कारण अनिलको परिवार धनगढी फर्कियो। पुनः उनीहरु १८ गते लखीमपुरका लागि हिँडे। त्यहाँ अस्पतालमा सोधीखोजी गर्दा अनिलको मृत्यु भइसकेको जानकारी दिइएको थियो। ‘हामी १ घण्टा पनि ढिलो पुगेको भए झण्डै लास जलाइसकेका थिए। त्यही हामीले प्रहरीलाई जाहेरी दियौं। प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि आउनु भनेको छ’ बलबहादुर भन्छन्।

अनिलका परिवारले कात्तिक १९ गते शव नेपालमा ल्याएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि जानकारी गराएका थिए। तर प्रहरीले घटना उतै घटेकाले उतै जाहेरी दिनु भनेर बताएको थियो। 

परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न भारतीय प्रहरीलाई आग्रह गरेका छन्। अनिलको मुखमा तेजाबले जलेजस्तो फोका आएकाले उनको हत्या नै गरिएको भारतीय प्रहरी र परिवारले आशंका गरेको छ। ‘परिवारको एक्लो छोरो हो। २० गते अन्तेष्टि गरेपछि उसका आमाबुवाको रोएर बेहाल भएको छ’ मृतक अनिलका ठुलोबुवा बलबहादुर खातीले भने। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस