सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ४ हजार प्रहरी परिचालन, ढुक्क भएर दसैं मान्न आग्रह

२०७८ असोज २८, ०६:२५ रोशन भट्ट

धनगढीः जब चाडवाड आउँछ गाउँमा चहलपहल बढ्छ, सहरमा सुनसान। यहीबेला कतिपय घर नै खाली हुन्छन्। चाडवाडमा घरधनी, व्यापारी लगायतलाई केही भइहाल्ने त होइन भन्ने चिन्ता पर्छ। यस्तै मौकाको फाइदा उठाएर चोरी, लुटपाटका घटना हुने सम्भावना पनि हुन्छ। यस्तै संभावित अपराधिक घटना रोक्नका लागि सुदूरपश्चिममा भने सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेशका सवै जिल्लाहरुमा सम्भावित जोखीमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो। 

प्रदेशको राजधानी समेत रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ। दसैँ तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको बताउदै ढुक्कसँग दसैं मनाउन कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आग्रह गरे। ‘जिल्ला भरीको सुरक्षा व्यवस्थ कडा छ, प्रहरी परिचालन भएका छन्,’ उनले भने, ‘कसैलाई समस्या परे प्रहरी र प्रशासनलाई खबर गर्न आग्रह गर्छु।’ 

चाडपर्वको समयमा जथाभावी रुपमा सवारी साधन चलाउने र तिव्र गतिमा गाडी हाक्नेलाई कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ। प्रदेशवासीलाई भयरहित वातावरणमा दसैं मनाउन आग्रहसहित प्रदेशभरी चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले बताए। ‘सुरक्षाको दृष्टिकोणबाट हामी पुरा तयारीमा छौं,’ उनले भने, ‘प्रदेश भरी नै दसैं सुरक्षा योजना लागू भएको छ। भयरहित वातावरणमा दसैं मनाउन अनुरोध गर्छु।’

दसैंको अवधिमा आर्थिक संकटका कारण हुनसक्ने आर्थिक अपराधका घटना हुन नदिन पनि प्रहरीले निगरानी बढाएको छ। दसैं, तिहार, छठ जस्ता चाडपर्व लक्षित सुरक्षा योजनामा चोरी, तस्करी, सडक दुर्घटना लगायतका घटना हुन नदिन प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको हो। जसमा प्रहरीको गस्ती बढाइएको छ भने सादा पोषाकमा प्रहरी परिचालनसँगै साइकल टोली, मोबायल टोली, हेल्प डेक्स र आवश्यक परेको खण्डमा थप सुरक्षाकर्मी परिचालन गर्नका लागि सम्पूर्ण तयारी गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस