सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जनगणना गर्दा घरमा नपुगेरै सूचीकरण गरेको गुनासो

२०७८ असोज २४, ०५:५१ रोशन भट्ट

धनगढीः कैलालीमा जनगणना गर्दा घर परिवार सूचीकरणमा सुपरिवेक्षकले लापरबाही गरेको गुनासो गरिएको छ। प्रत्येकको घर–घर पुगेर स्थानीयको विवरण संकलन गर्नुपर्ने भएपनि सुपरिवेक्षकहरुले भने एक ठाउँमा जम्मा भएर अन्दाजको भर घर परिवार सूचीकृत गरेको गुनासो गरिएको हो। 

जिल्लामा दुई वटा कार्यालय स्थापना गरेर गणनाको काम भइरहेको छ। कार्तिक २५ गतेबाट सुरु हुने गणनाका लागि अहिले परिवार सूचीकृतको काम भइरहेको छ। तर जनगणना कार्यालयले पठाउने सुपरिवेक्षकहरु घरमा नपुगेरै विवरण संकलन गरेको लम्कीका स्थानीय ललित देउवाले बताए। ‘सुपरिवेक्षकहरु घरमा नपुगेको गुनासो धेरैको छ। यसले गर्दा गणना गर्दा गणकलाई पनि समस्या हुन्छ’ उनले भने। 

कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि धनगढीमा स्थापना भएको कार्यालयले ८१ जना सुपरिवेक्षक खटाएको छ। धनगढी उप–महानगरपालिकासहित गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका लगायतका स्थानीय तहमा उनीहरु खटिएका छन्। 

उनीहरुले गरेको घर परिवार सूचीकृत गरे अनुसार नै जनगणना हुने हो। तर सुपरिवेक्षकहरु घरमा नपुग्दै विवरण संकलन गरिरहेका छन्। गोदावरी र कैलालीबाट सुपरिवेक्षक घरमा नपुगेको गुनासो आएको जनगणना कार्यालय धनगढीका प्रमुख सुरेन्द्र रावलले बताए। ‘गुनासोपछि छुटेका घर परिवारको सूचीकृत गर्ने काम भएको छ। अझै पनि छुटेका परिवारको सूचीकृत हुने काम हुन्छ’ उनले भने।

असोज १८ गतेसम्म सुचीकृत गर्ने समय तोकिएको थियो। तर छुटेकाहरुका लागि भनेर २५ गतेसम्म समयअवधि थपिएको छ। सुचीकृत गर्दा सुपरिवेक्षकहरुले घर परिवारसहित सम्पूर्ण जानकारीसहित विवरण संकलन गर्नु पर्ने प्रवाधान छ। त्यसकै आधार पुनः गणकहरुले पनि घर–घर पुगेर एकिन तथ्यांक संकलन गर्नुपर्ने हुन्छ। 

अनुमानको भरमा भइरहेको सूचीकृतका कारण गलत तथ्यांक संकलन हुने खतरा बढी छ। तर जनगणना कार्यालय लम्कीका प्रमुख भीम शाखले भने आफ्नो क्षेत्रमा त्यस्तो समस्या नदेखिएको दाबी गरे। ‘हामी सबैलाई निगरानी गरिरहेका छौं। अहिलेसम्म मैले त्यस्तो गुनासो सुनेको छैन’ उनले भने। 

कैलालीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पनि अनुमानको भरमा घरपरिवार सूचीकृत भइरहेको गुनासो व्यापक छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस