सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्वयसेवकको पारिश्रमिकमाथि गिद्देदृष्टि

२०७८ असोज २१, १२:०१ रोशन भट्ट

धनगढीः यूएनडिपीको आर्थिक सहयोगमा युवा शान्ती परिषद्ले कोरोनाको खोप अभियान सञ्चालन गर्नका लागि तथ्यांक संकलन गर्ने जिम्मा पायो। संघीय स्वास्थ्य मन्त्रालयमा सिधै तथ्यांक पुग्ने गरी अनलाइनको माध्यमबाट विवरण संकलन गर्नका लागि उक्त संस्थाले धनगढी उपमहानगरपालिका भरी ४० जना स्वयमसेवक खटाएको थियो। 

४० जनाको समूहमा वडा नम्बर ६ का हेम ओझा पनि थिए। दैनिक ३ सय ७५ जनाको तथ्यांक संकलन गर्नुपर्ने भन्दै उनलाई काममा खटाइयो। दिनको ८ सय पारिश्रमिकसहित रिचार्जबापत एक दिनमा एक सय दिने सहमति भएको थियो। संस्थासँग भएको सहमति अनुसार उनले ९ दिनको ८ हजार एक सय पारिश्रमिक पाउनु पर्ने हो तर आफुले ५ हजार मात्रै पाएको उनले बताए। ‘भुक्तानीको रसिदमा रकम पनि लेखिएको थिएन,’ उनले भने ‘त्यसैमा हस्ताक्षर गर्न लगाए।’ 

४० जना स्वयमसेवक खटाएको युवा शान्ती परिषद्को समूहमा धनगढीका भक्तराज जोशी पनि थिए। उनलाई भने अरुको भन्दा फरक जिम्मेवारी दिइएको थियो। ४० जनाले गरेको कामको निगरानी गर्ने जिम्मा जोशीलाई दिइएको थियो। तर उनले पारिश्रमिक नै नपाएको गुनासो गरेका छन्। 

प्रत्येक दिन ४० जनाले गरेको कामको रिपोटिङ युवा शान्ती परिषद् र यूएनडिपीलाई गर्दा अहिले आएर काम नै गरेको छैन भन्दै पारिश्रमिक नदिएको जोशी बताउँछन्। ‘मलाई काममा लगाएको सबै प्रमाण छ,’ उनले भने, ‘अहिले काम नै गरेको छैन भनेर मेरो पारिश्रमिक दिइएको छैन।’

युएनडिपीले दिनेशखबरलाई उपलब्ध गराएको विवरण अनुसार युवा शान्ती परिषद्लाई ५ लाख ६० हजार भुक्तानी गरेको देखिएको छ। तर परिषद्ले भने साढे चार लाखमा कार्यक्रम सञ्चालन गरेका जनाएको छ। स्वयमसेवकलाई पनि काम अनुसारको भुक्तानी दिएको दाबी युवा शान्ती परिषद्का अध्यक्ष प्रेम ढुङ्गानाको छ। ‘काम गर्नेले पुरै भुक्तानी पाएका छन्,’ उनले भने, ‘केहीले पुरा काम गर्न सकेनन्, उनीहरुलाई किन दिने पुरै भुत्तानी ?’ 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस