सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी दिवसमा भक्कानिए धनगढीको जुगेडामा श्रीमान् गुमाएकाहरु

बायाँ पूजा विक, दायाँ खिमा लामा
बायाँ पूजा विक, दायाँ खिमा लामा
२०७८ असोज २०, १२:०० आशिष मल्ल

धनगढी: अझैपनि उनका आँखा ओभानो भएका छैनन्। पतीको सम्झना आउँदा तरक्क आँसु बगाइहाल्छिन् उनी। घरमा ५१ वर्षीया सासु आमा र २ स–सना छोरी भएतापनि उनी एक्लो महसुस गर्छिन्। अब श्रीमान गोविन्दको याद मात्रै छ उनीसँग। कञ्चनपुरको पुनर्वास नगरपालिकाकी पूजा विकले गत कार्तिक २ गते आफ्ना पती गोविन्द विकलाई गुमाएकी थिइन्। 

पूजाका श्रीमान धनगढी उपमहानगरपालिका–१२ अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज थिए। कार्तिक १ गते शनिवार राति बेपत्ता भएपछि उनको शव २ गते नेपाल–भारत सीमास्थित मोहना नदीमा फेला परेको थियो। घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। तस्करहरुले उनको हत्या गरिएको भनि प्रहरीले बताएको थियो।

सोही घटनामा अर्का प्रहरी जवान रामबहादुर साउँदको पनि हत्या भएको थियो। शनिवार राति नै बेपत्ता भएका उनको शव विक भेटिएकै मोहना नदी क्षेत्रमा कार्तिक ४ गते मंगलबार फेला परेको थियो। उनको शव पनि विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो।

उक्त घटना भएको करिब १ वर्ष पुग्न लागिसक्यो तर साउँदकी पत्नीलाई त्यो कुरामा अझै विश्वास छैन। अछामको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ५ बस्ने उनका पनि २ छोरी छन्। तस्करी रोक्न खोज्दा ज्यान नै गुमाएपछि प्रहरी जवान साउँदकी पत्नी खिमा लामाको सिउँदो खाली भएको छ। अहिले पनि श्रीमानको नाम सुन्ने बित्तिकै उनी भावुक बन्छिन्। बनुन पनि किन नाईं उनलाई रामबहादुरको याद झलझली आउँदो होला। 

सम्झना आएपछि उनी केही गर्न सक्दैनिन्, सक्छिन् त केवल आँसुका धारा बगाउन। उनले आफूलाई कठोर बनाउन खोज्छिन्। श्रीमान ड्युटी गर्दा गर्दै सहिद भएकाले उनी त्यसमा गर्व गछिन्। तर मुटुनै रेटिएर बग्ने आँसुलाई कसैले रोक्न सक्दैन्। खिमाले पनि सक्दैनिन्।

यस्तै दृश्य बुधवार पनि देखियो। प्रदेश प्रहरी कार्यालयमा खिमा लामा र पूजा विक भक्कानिए। उनीहरुको रोदन देखेर उक्त स्थानमा भएका सबैका आँखा रसाए। कार्यक्रम थियो ६६औं प्रहरी दिवस। सोही कार्यक्रममा प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले विर सहिदका परिवारलाई सम्मान गर्दै थियो। 

सुरुमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दा खिमा र पूजा भावुक बनिसकेका थिए। पछि प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीबाट अमर प्रहरीका परिवारलाई नगदसहित सम्मान गर्न खोज्दा दुवै जना भक्कानिएका थिए। उनीहरुको रोदनले त्यहाँ उपस्थित सबै भावुक भने। लगत्तै प्रहरी प्रधान कार्यालयको तर्फबाट कार्यक्रमका विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी लगायतले उनीहरुलाई नगदसहित कदरपत्र प्रदान गर्ने कार्यक्रम थियो। जसका लागि उनीहरु स्टेजसम्म आउनुपथ्र्यो।

उनीहरुलाई स्टेजसम्म पुग्न सहाराको आवश्यकता पर्‍याे। सहयोगीको मद्दतमा स्टेजसम्म पुगेपछि सम्मानपत्र ग्रहण गर्दा दुवै जनाले आफ्नो नियन्त्रण गुमाए। दुवै जना जोडजोडले भक्कानिन थाले। उनीहरुको रुवाईमा त्यो बेदना र एक्लोपन देखिरहेको थियो। उक्त दृश्य देखेर स्टेजमा उपस्थित भएका सबैका आँखा रसाए। मन्त्री पूर्णा जोशीले त आँसु समेत बगाइन्।

सम्मानपत्र पाइसकेपछि दुवैजना बसेर एकोहोरो टाेलाइरहेका थिए। हत्यारालाई पक्राउ गरिसकेपछि सरकारले दुवै सहिदका परिवारलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको छ। तर खिमा र पूजालाई श्रीमानको अभाव भने कसैले पूर्ति गर्न सक्दैन। 

यो पनि पढ्नुस 
मृतक प्रहरीका परिवारले के–के सुविधा पाउँछन् ? यस्तो छ व्यवस्था
असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस