सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाका पूर्ण रुपमा खुल्यो, भारतीय गाडीमा लगाइएको रोक हट्यो

२०७८ असोज १७, ०१:१६ रोशन भट्ट

धनगढीः सुदूरपश्चिमका नाकामा भारतीय सवारीमा लगाइएको रोक हटेको छ। कोरोना प्रभावपछि भारतीय सवारी नेपाल प्रवेशमा लगाइएको रोक हटेको हो। विगतमा खाद्यान्न लगायतका सामग्री बोक्ने सवारी सधन निर्वाध रुपमा सञ्चालन भएपनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो।  गत ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पुरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सुदूरपश्चिमका सीमा नाका भएर पनि सवारी साधन सञ्चालन भएका छन्। 

डेढ वर्षसम्म कोरोना भाइरसको महामारीका कारण बन्द भएका सीमानाकाबाट भारतीय निजी सवारीलाई नेपाल प्रवेशको अनुमती मिलेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए। ‘संघीय सरकारको आदेश अनुसार सीमानाका खोल्ने निर्णय गरेका छौं,’ उनले भने, ‘शनिबार साँझबाट तोकेको मापदण्ड पुरा गरेर सवारी आवातजावत भइरहेको छ।’

भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकले भने विभिन्न मापदण्डहरु पुरा गर्नुपर्ने प्रावधान बनाइएको छ। नेपाल प्रवेश गर्ने भारतीय नागरिकसँग ७२ घण्टा भन्दा पहिलाको पिसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने, कोभिड संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)को साइटमा प्राप्त हुने फर्म भरेर त्यसको प्रिन्टकपी हुनुपर्ने र कोरोनाको दुई डोज खोप लगाएको कार्ड साथमा हुनुपर्ने मापदण्ड तोकिएको छ। 

कञ्चनपुरको गड्डाचौकी र त्रिनगर–गौरीफन्टासहित कैलालीको खक्रौला नाकाबाट आवातजावत सुरु भएपछि नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई सहज हुने विश्वास लिइएको छ। नाकामा हुने कुनै पनि परीक्षणमा कारोना लक्षण नदेखिने नागरिकलाई नेपाल प्रवेश गर्न दिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। ‘कञ्चनपुरका नाकाबाट निजी सवार मापदण्ड पुरा गरेर नेपाल आइरहेका छन्,’ उनले भने, ‘व्यक्तिगत विवरण खुल्ने फर्म पनि भर्नुपर्ने व्यवस्था गरिएको छ।’

विगतमा भारतीय नागरिकलाई निर्वाध रुपमा नेपाल आउन दिएपनि निजी सवारीलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो। जसकाकारण धनगढीसहित समग्र सुदूरपश्चिमको पर्यटन र होटल व्यवसायालाई लयमा फर्काउन मुस्किल भइरहेको थियो। सुदूरपश्चिमका पर्यटकीय स्थल र होटलहरुमा भारतीय पर्यटक भित्रिएपछि मात्रै यस क्षेत्रको अर्थतन्त्र बलियो हुने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए।  ‘यस क्षेत्रमा भारतीय पर्यटक सहज रुपमा आउन पाउने भएपछि थला परेको व्यवसाय माथि उठ्ने विश्वास गरेका छौं। भारतीय पर्यटकलाई विगत जस्तै व्यवहार नगरेर प्रहरीले पनि अनावश्यक दुःख दिनु हुँदैन’ उनले भने। 

निजी गाडीसहित नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरु कैलालीको चिसापानी, गोदावरी, खानीडाडाँसहित डडेल्धुरा लगायतका स्थानमा पुग्ने गरेका थिए। तर विगत लामो समयसम्म नाका बन्द भएपछि ती पर्यटकहरु रोकिएका थिए। अब भने नाका पूर्ण रुपमा सुचारु भएसँगै यस क्षेत्रका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्ने आंकलन गरिएको छ। 

व्यवसाय नचल्दा बैंकको ब्याज, होटेलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युतलगायत नियमित खर्चको भार बढीरहेका बेला भारतीय पर्यटक नेपाल आउन पाउने भएपछि केही सहज हुने व्यवसायीको तर्क छ। 

यस्तै नेपाली नम्बर प्लेटका गाडी पनि भारतमा कोरोना अघिको समय जस्तै चलाउन पाइने भएको छ।

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस