सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडकमा दैनिक जाम, के हो समाधान ?

२०७८ असोज १५, ०६:५१ विन्दु चन्द

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको मुख्य सडकमा सवारी जामको समस्या बढ्दै गएको छ। धनगढीको कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालयसम्मको मुख्य सडकमा दैनिक सवारी जाम हुँदै आएको हो। जसका कारण नागरिकले आधा/एक घण्टासम्म पनि सवारी जामको सास्ती खेप्नुपर्ने बाध्यता छ। सवारी जामको समयमा विद्याथी, कर्मचारी तथा विद्युतीय रिक्सामा सवार यात्रुले सबैभन्दा बढी सास्ती खेप्नु परिरहेको छ। अस्पतालका लागि जाने बिरामीहरुले समेत सडक जाम हुँदा दुःख पाइरहेका छन्। 

धनगढीको मुख्य सडकमा विहान ९ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ५ बजेको समयमा सबैभन्दा बढी जाम हुने गरेको छ। सडकमा हुने सवारी जामका कारण विद्यालय पुग्नसमेत ढिलो भएको धनगढीका विद्यार्थी दशरथ बोहराले बताए। उनले भने, ‘सडक काट्दा गाह्रो हुन्छ। कहिले काहीँ जाममै आधाघण्टा भन्दा बढी लागिहाल्छ। स्कुल पुग्न ढिलो भइहाल्छ।’ 

कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालय कैलालीसम्मको खण्डअन्तर्गत एलएन चोक र नैनादेवी चोकमा लामो समयसम्म जाम हुने गरेको  छ। चौराह आसपासको क्षेत्रमा पनि सडक भत्किएपछि जामको समस्या निम्तिएको सवारी चालक पदमबहादुर बागचनले बताए। भताभुङ्ग सडकका कारण सवारी सञ्चालनमा समस्या हुँदा जाम हुने गरेको  उनले बताए। ‘सडक साँघुरो छ, जताततै खाल्डाखुल्डी। एउटै सडकमा गाडी चल्छन्। अन्य रोडहरुको अवस्था बिजोग छ,’ उनले भने, ‘धेरै सवारी साधन त गलत दिशाबाट हिँडिदिन्छन्। त्यसले धेरै जाम हुन्छ। दुर्घटना हुन्छ कि भन्ने डरले जोगीएर हिन्नुपर्छ।’

मुख्य सडकमा परेका खाल्डा पुर्ने जिम्मेवारी धनगढी उपमहानगरपालिकाको हो। उपमहानगरले गत आर्थिक वर्षमा झण्डै एक करोडमा सडक मर्मत गरेको थियो। तर असारे झरीले उक्त पिच भत्काएको थियो। भताभुङ्ग सडकका कारण सवारी सञ्चालनमा समस्या हुँदा ट्राफिक व्यवस्थापनमा समेत चुनौती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले बताए। उनले भने ‘अटोको संख्या धेरै भयो। ६ हजार बढी अटोहरु धनगढीका मुख्यबजारमै हिँड्छन्। नयाँ दर्ता बन्द गरेर पुरानालाई  जोर-विजोर प्रणाली लागु गरेर वा रुट तोकेर सञ्चालन गरे जाम हट्छ।’ 

कैलालीपुलदेखि एलएन चोक क्षेत्रमा सडक समेत साघुरो छ। साँघुरो सडक भताभुङ्ग भएकाले सवारी सञ्चालनमा झनै समस्या हुने गरेको छ। यता धनगढी उपमहानगरपालिकाले भने  मुख्य सडक बाहेकका सडकहरु निर्माणाधिन अवस्थामा रहेकाले सडक जाम भइरहेको जनाएको छ। ‘अन्य सडक निर्माण भइरहेकाले अहिले मुख्य सडकमा जाम भइरहेको छ,’ धनगढी उपमहानगरपालिका इञ्जिनियर दीजराज भट्टले, ‘अन्य सडक सञ्चालनमा आए जाम हट्छ।’ यस्तै मुख्य सडकका खाल्डाखुल्डी दशैभित्रै पुर्ने उनले बताए।


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस