अझै सुधार भएन अत्तरिया चोकको अवस्था
धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वार अत्तरिया चोकको कालोपत्रेसहितको मर्मतको काम गत असारमै सम्पन्न हुनुपर्ने हो। निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको सम्झौताअनुसार असारमा काम सम्पन्न हुनुपर्ने भए पनि अहिलेसम्म पूरा भएको छैन। तीन वर्षदेखि अस्तव्यस्त अत्तरिया चोकको स्तरोन्नतिका लागि २०७७ चैतमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले एक करोड ६६ लाखको बोलपत्र आह्वान गरेको थियो।
भुवन निर्माण सेवा धनगढीले ४० प्रतिशत बिलोमा ठेक्का पाएको थियो। निर्माण सम्झौताको अवधि सकिए पनि ठेकेदारको लापरबाहीका कारण कालोपत्रेको काम अहिलेसम्म पूरा नभएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए। ‘हामीले पटकपटक दबाब दिदा काम त सुरु भएको छ,’ उनले भने, ‘निर्माण कम्पनीको लावरबाहीका कारण धेरै समय लागेको छ।’
स्थानीय सरकारले समेत त्यसतर्फ ध्यान नदिएको उनको आरोप थियो। अत्तरिया चोकसहित चारैतिरको सडकलाई ३० देखि ४० सेन्टिमिटर उचाइसहित पानीको निकास हुने गरी सडक निर्माण गर्ने सम्झौता गरिएको छ। निर्माण कम्पनीको लापरबाहीका कारण कालोपत्रेको काम नै अनिश्चित भएको भन्दै स्थानीय आन्दोलित समेत भएका थिए। जनदबाबपछि निर्माण कम्पनीले निर्माणस्थलमा काम त सुरु गरेको छ। तर अझै समय लाग्ने देखिएको छ।
मौसमका कारण कालोपत्रेको काम गर्न ढिलाई भएको निर्माण व्यवसायी भुवनेश्वर पन्त दाबी छ। ‘यसै मितिमा काम सकिन्छ भन्न त मिल्दैन,’ उनले भने, ‘मौसमले साथ दिए छिट्टै काम सम्पन्न हुन्छ।’ गत वर्षको चैतमा निर्माण सम्झौता भएपनि वैषाखदेखि जारी निषेधाज्ञाका कारण काम गर्न नसकिएको बताइएको छ।
त्यसपछि पनि दैनिक जसो पर्ने पानीले गर्दा समय लागेको दाबी आयोजना कार्यालयको पनि छ। सानो ठेक्का र सानै ठेकेदार भएकाले अर्काको उपकरणमा भर पर्नुपर्ने भएकाले समय लाग्ने अववस्था सिर्जना भएको छ। तर आयोजना कार्यालयले पनि नियमित काम गराउनका लागि निर्देशन नदिएर वेवास्ता गर्दा दयनिय बनेको चोकका कारण शहरको सुन्दरतामाथि प्रश्न उठ्न थालेको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले पनि निषेधाज्ञा र मौसका कारण काम गर्न नसकिएको जनाएको छ। ‘पानी परेन भने यो महिनाभित्रै काम सकिन्छ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण जोशीले भने, ‘अहिले निर्माण कम्पनीले फिल्डमा कामसमेत सुरु गरेको छ।’