कैलालीमा कार्यादेश नपाउँदै मनपरी रुपमा नदीजन्य पदार्थ उत्खनन्
धनगढीः बर्सातको समयमा नदीमा बाढी आउने गरेका कारण तीन महिनासम्म बन्द भएको नदीजन्य पदार्थ उत्खननको काम असोज १ गतेदेखि खुल्ला भएको छ। अहिले विभिन्न स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र पर्ने नदीहरु ठेक्कामा लगाइरहेका छन्।
तर गोदावरी नगरपालिमा पर्ने खुटिया नदीमा भने ठेक्का सम्झौता नहुँदै ढुङ्गा, वालुवा, गिट्टी उत्खनन गरी ढुवानी गर्न मंगलबार विहान दर्जनौ गाडीहरु खोलामा पुगेको गोदावरीको स्याउलेका स्थानीय रमेश बोगटीले बताए। ‘नदीजन्य पदार्थ चोरी तस्करी गर्नेलाई स्थानीयले समात्ने गरेका छन्। तर नगरपालिकाको ध्यान जान सकेको छैन,’ उनले भने, ‘विहान ५ बजेटबाट उत्खनन गर्न मिल्ने भएपनि ४ बजेदेखि नै नदीमा गाडी हुन्छन्।’
नगरपालिकाले श्रीभवानी कन्स्ट्रक्सन प्रालिलाई नदीजन्य पदार्थ उत्खननको कार्यदेश मंगलबार दिउँसो मात्रै दिएको छ। तर सोमबारदेखि नै नदीका विभिन्न स्थानबाट उत्खनन भएको छ। नगरपालिकाले एकपटक पठाउने पत्रमा प्रावधान अनुसार काम गर्ने निर्देशन दिने भएपनि त्यसपछि अनुगमन गर्ने गरेको छैन। जसका कारण ठेक्का पाएको निर्माण कम्पनीले वातावरणीय प्रभाव मुल्यांकनको धज्जी उडाउदै उत्खनन गर्दा पनि नगरपालिकाले आँखा चिम्लेको आरोप लागेको छ।
नगरपालिकाकाले आर्थिक वर्ष २०७८/०८९ का लागि ६ करोड बढीमा ठेक्का सम्झौता गरेको छ। गोदावरीमा पर्ने खुटिया, गोदावरी र खैराना नदीको ढुङ्गा, बालुवा गिट्टी उत्खननका लागि ६ करोड बढीमा ठेक्का सम्झौता भएको छ।
नदी नजिकका स्थानीयले मापदण्ड अनुसार उत्खनन नहुने गरेको गुनासो गरेपनि प्रावधान अनुसार नै काम हुने गरेको दाबी गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदको छ। ‘सम्झौता अगाडि उत्खनन गर्न नदिन प्रहरी र नगर प्रहरीलाई भनेका छौ,’ उनले भने, ‘आजै निर्माण कम्पनीसँग सम्झौता समेत भइरहेको छ।’
वातावरणीय प्रभाव मुल्यांकन विपरीत नै नदीजन्य पदार्थ उत्खनन हुने गरेका कारण प्रत्येक वर्ष कटान र डुबानको समस्या बढ्दै गएको छ।