सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा नेपाल प्रहरी नै भारतबाट फर्किनेहरुसँग रकम असुल्दै

२०७८ असोज २, ०५:३३ रोशन भट्ट

धनगढीः सुदूरपश्चिमको झण्डै ३० प्रतिशत जनसंख्या रोजगारीका लागि भारतमा निर्भर छ। जसमध्ये केही परिवार उतै बसोबास गर्दै आएका छन्। अधिकांश प्रदेशवासी रोजगारीको लागि मात्रै भारत जाने गरेका छन्। उनीहरु वर्षमा एक/दुई पटक नेपाल आवातजावत गर्दछन्। सुदूरपश्चिमेलीसहितका नेपालीहरु नयाँ वर्ष, दशैँतिहार तथा छट पर्वका लागि नेपाल आउने गरेका छन्। दशैँको एक महिना बाँकी रहेका बेला अहिले सुदूरपश्चिमेलीसहितका नेपाली गौरीफन्टा सीमा क्षेत्र हुँदै भित्रिरहेका छन्।

प्रत्येक दिन भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढेका बेला गौरीफन्टा सीमा क्षेत्रमा पुग्ने वित्तिकै उनीहरु लुटिदै आएका छन्। गौरीफन्टा नाकामा भेटिएका डबल विष्टले भने, ‘सुरुवातमा भारतीय प्रहरीले पैसा लिन्छ। नेपाल पुगेपछि नेपाल प्रहरीले पनि झोला चेक गर्ने नाममा म सँग ५० रुपैयाँ माग्यो। रिक्सावालाले त झनै लुटिरहेका छन्।’ सीमा नाकामा पुग्ने वित्तिकै भारतीय सीमा सुरक्षा बल(एसएसबी)को फन्दामा पर्ने नेपालीहरु अटो रिक्सा चालकलाई चर्को भाडा तिर्नसमेत बाध्य छन्। स्वदेशी भूमिको सुरक्षासँगै नेपाल–भारत आवातजावत गर्ने नागरिकलाई सहजता दिन नाकामा तैनाथ नेपाल प्रहरीले पनि उनीहरुसँग रकम असुली गर्दै आएको हो। 

सामान नबोकेर आउनेहरु सहजै धनगढी प्रवेश गरेपनि ठूलो झोला ल्याउनेसँग नेपाल प्रहरीले ५० रुपैयाँदेखि एक सय भन्दा बढी असुली गर्दै आएको मोहना पुलवारी भेटिएका तेजबहादुर बिकले बताए। ‘भारतबाट सामान ल्याए नाकामा नेपाल पुलिसलाई ५० देखि एक सय रुपैयाँसम्म दिएपछि मात्रै आउन दिन्छ,’ उनले भने, ‘मैले पनि छोराछोरीका लागि लुगाकपडा ल्याएको थिए। सुरुमा झोला खोल भन्यो। तर  रुपैयाँ दिएपछि झोला हेरेन।’ आर्थिक असुली पछि झोला समेत चेक हुने गरेको छैन। जसकाकारण निषेधित सामान समेत नेपाल भित्रिने जोखिम बढेको छ।   

त्रिनगर–गौरीफन्टा सीमानाका कञ्चनपुरमा पर्ने भएपनि स्वदेश फर्किनेले नाका पार गरेपछि कैलालीको भूमि प्रयोग गर्नुपर्छ। त्यसकाकारण पनि कैलाली र कञ्चनपुरबाट ड्युटीमा खटिने प्रहरीले भारतबाट फर्किनेलाई अनावश्यक दुःख दिने गरेको गुनासो गरिएको छ। सबैभन्दा बढी मोहना पुलमा स्वदेश फर्किएका नेपालीहरु लुटिदै आएका हुन्। स्वदेश भित्रिनेलाई सुरक्षाको अनुभूति दिलाउन पर्ने ठाउँमा सुरक्षाकर्मीले नै लुट्न थालेपछि प्रहरी संगठन माथिको विश्वास गुम्दै गएको छ।

उक्त विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुस्वत्तम कँडेलले निगरानी गर्ने बताएका छन्। ‘त्यसमा निगरानी गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयको हो। प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन समेत जिल्ला प्रहरीलाई दिएका हुन्छौं। अब दशैं तिहारको सुरक्षा योजना लागू गछौं’ उनले भने। 

दशैं आउन अझै एक महिना बाँकी छ। यो अवधिमा भारतबाट आउनेहरुको संख्या बढ्ने आकलन गरिएको छ। तसर्थ उनीहरुलाई लुटिनबाट जोगाउन लागि स्थानीय प्रशासनले नै चनाखो बन्नुपर्ने पीडितहरु बताउँछन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस