गौरीफन्टा नाकामा रिक्सा चालकको लुट, ३० रुपैयाँ भाडा लाग्ने ठाउँमा हजार असुली
धनगढी : अछामको कमल बजार नगरपालिका वडा नम्बर ५ का डिल्ली कामी बिहीबार साँझ त्रिनगर–गौरीफन्टा नाकामा पुगे। स्वास्थ्य उपचारका लागि भारतको पुना गएका कामी बिहीबार स्वदेश फर्किएका हुन्।
उनका छोरा भारतमै रोजगारी गर्दै आएका कारण घर परिवारका लागि केही सामान पठाएका थिए। उक्त सामानको झोलासहित नाकामा पुगेका डिल्लीसँग सुरुवातमा भारतीय प्रहरीले ५० रुपैयाँ माग्यो।
त्यसपछि उनले धनगढी भित्रिनका लागि अटो रिक्साको जोह गर्न थाले। रिक्सा चालकले बसपार्कसम्म पुगाएको ६ सय भारु दिनुपर्ने भने। धनगढी पुग्नुपर्ने बाध्यता भएका कारण रिक्सा चालकले भनेको भाडा तिर्न बाध्य भएको उनले बताए। ‘दुई सयसम्म दिन हामी पनि तयार भएका थियौँ,’ उनले भने, ‘रिक्सावालाले ६ दिनुपर्छ भन्यो, हामी पनि दिन बाध्य भयौंँ।’
डिल्लीसँगै भारतबाट नाकामा पुगेका सयौँ नेपालीसँग अटो रिक्सा चालकले चर्को भाडा असुल्दै आएका छन्। बिहीबार नै धनगढी भित्रिएका हर्कबहादुर बयाडीलाई पनि नाका पारे गरेपछि कैलाली प्रहरीले मोहना पुल नजिकै रोक्यो। अटोमा सवार बयाडीलाई आफूसँग भएको सामानको पोको खोल्न भन्यो। उनले आफ्नो झोला खोल्ने तयारी गर्दै गर्दा रिक्सा चालकले भने, ‘म लाई हतार भइरहेको छ, ५०÷६० रुपैयाँ दिनु अनि जान दिन्छन्।’
‘मैले ५०÷६० रुपैयाँ छुट्टा नभएको बताएपछि रिक्सा चालकले पछि मिलाउनु पर्छ भन्दै आफ्नो गोजीबाट ५० रुपैयाँ निकालेर ड्युटीमा खटिएकी एक महिला प्रहरीको हातमा थमाए। यसबाट पनि प्रहरीको समेत मिलेमतो रहेको पुष्टि हुन्छ,’ उनले भने।
तर बसपार्क पुगेपछि उक्त अटो रिक्सा चालकले आफूसँग सात सय भारु रुपैयाँ भाडा लिएको गुनासो बयाडीको छ। ‘एक सय रुपैयाँ देउ भाइ भन्छ अनि जाँउ भन्छ। त्यो झोलामा बम–बारुद जे सुकै होस् चेक गर्दैन। रिक्साको भाडा पनि ३० रुपैयाँ मात्रै हो,’ बयाडीले दिनेशखबरसँग भने।
भारतबाट स्वदेश फर्किने नेपालीमाथि नाकामा कैलालीका अटो रिक्सा चालकले अस्वभाविक भाडा असुल्दा पनि स्थानीय प्रशासन भने अनभिज्ञ छ। ड्युटीमा खटिने कैलाली प्रहरीको संग्लनतामा रिक्सा चालकले गौरीफन्टा नाकादेखि धनगढी बसपार्कसम्म पुगाएबापत ३० गुणा भन्दा बढी भाडा लिदै आएका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए। ‘हामीकहाँ उजुरी आएपछि हामी छानबिन गर्छौ,’ उनले भने, ‘ट्राफिकलाई पनि निगरानी गर्न भन्छौ, आउने मान्छेहरु पनि सजक हुनुपर्छ।’ भारतबाट फर्किने नेपालीहरु सुरुवातमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट लुटिदै आएका छन् भने त्यसपछि नेपाल पुगेर पनि लुटिन थालेका हुन्।