सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा स्वदेश फर्किने नेपालीमाथि लुट

२०७८ भदौ ३१, ०६:०० रोशन भट्ट

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाकाका भरतबहादुर विष्ट बिहीबार त्रिनगर–गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरे। भारतको पुनामा मजदुरी गर्दै आएका विष्ट हिन्दु नेपालीको महान चाड दशैँ घर परिवारसँगै मनाउनका लागि स्वदेश फर्किएका थिए।

 विष्टसँग भरतीय सीमा सुरक्षा बल(एसएसबी) ले घर परिवारका लागि ल्याएको लुगाफाटोको पोको खोल्न आग्रह गर्‍याे। विष्टले पनि झर्को नमानी उक्त पोको खोल्न खोज्दा (एसएसबी)ले हिन्दी भाषामा केही रकम दिएर जाँदा हुन्छ भन्यो। रकम दिएर उनी नेपाल प्रवेश गरे। ‘इन्डियाको पुलिसले पैसा ज्यादा नै लगिरहेको छ,’ उनले भने, ‘मसँग ५ सय मागेको थियो। मैले ढेड सय दिएर आए।’

भारतको मुम्बईमा रोजगारी गर्दै आएका डोटीको सायल गाउँपालिकाका हर्कबहादुर बयाडी पनि बिहिबार त्रिनगर–गौरीफन्टा नाका भएर धनगढी भित्रिए। उनको बाध्यता पनि लम्कीका भरत विष्टकै जस्तो थियो। तीन दिनको यात्रापछि नाकामा पुगेका बयाडीलाई भारतीय सीमा सुरक्षा बलले सुरुमा रोक्ने प्रयास गर्‍यो। त्यसपछि उनले ल्याएको सामानको झोला खोल्न भन्यो। उक्त झोला हेरेजस्तो गरेर एसएसबीले नाङ्गो आँखाले देख्ने गरी बयाडीबाट रकम असुली गर्यो। ‘सामानका झोलाहरु फाल्दिन्छन् यीनीहरु। आफुले जोहो गरी ल्याएको सामान कब्जा गर्छन कि  भन्ने डर लाग्यो। एक सय रुपैयाँ दिएर जाऊ भन्यो। अनि मैले पनि दिए आए’ बयाडीले दिनेशखबरलाई गुनासो सुनाए। 

दशैँ मनाउनका लागि अहिले दैनिकजसो सुदूरपश्चिममेलीहरु स्वदेश फर्किरहेका छन्। उनीहरुबाट भारतीय प्रहरीले बीनाकारण दैनिक असुली गर्दै आएको गुनासो गरिएको छ। नेपाली नागरिक गौरीफन्टा सीमा नाकामा लुटिदा पनि कैलाली–कञ्चनपुरका स्थानीय प्रशासन बेखबर छ। नाकामा भारतीय प्रहरीले रकम असुलेको विषयमा आफुलाई जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। ‘यो विषयमा मेरो तर्फबाट बुझ्न लगाउँछु। साँचै असुली भइरहेको हो भने सम्बन्धित निकायसँग समन्वय गरेर रोक्न लगाउछु’ उनले भने। 

त्रिनगर–गौरीफन्टा सीमा नाका कञ्चनपुरमा पर्ने भएपनि भरतबाट आउनेहरुले सीमा पार गरेपछि कैलालीको भूमि नै प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण पनि कैलाली प्रशासनले सुदूरपश्चिमेली नाकामा लुटिने विषयमा चनाखो बन्नुपर्ने हो। तर कैलालीको स्थानीय उक्त विषयमा प्रशासन मौन देखिएको छ।

‘हामीसँग कुनै पनि उजुरी आएको छैन। तर केही दिन अगाडि सशस्त्र प्रहरीका एसपी र जनपदका एसपीले एसएसबीसँग अनौपचारिक रुपमा छलफल गरेका छन्’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दिनेशखबरसँग कुरा गर्दै भने, ‘मैले पनि अब छिट्टै सिमाको बैठक राख्ने योजना बनाएको छु। यो कुरा सुनेपछि यो बैठकको महत्व पनि बढ्यो।’ 

दशैँ आउन एक महिना मात्रै बाँकी  छ। यो समयमा भारतबाट दैनिक हजारौको संख्यामा नेपालहरु स्वदेश फर्किन्छन्। 


 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस