सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा संघीय सरकारले निर्माण गरिरहेको सडकको काम अलपत्र

२०७८ भदौ २७, ०५:५५ रोशन भट्ट

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा क्षेत्रीय सहरी विकास अन्तरगत संघीय सरकारले निर्माण गर्ने सडकको काम ५ महिनादेखि अलपत्र छ। एसियाली विकास बैंकको ऋण सहयोगमा संघीय सरकारले निर्माण गरिरहेको सडकको काम अलपत्र पारेको हो।

दोस्रो लहरको कोरोना प्रभाव पछि जारी निषेधाज्ञाका कारण बन्द भएको उक्त सडक निर्माणको काम ५ महिना हुँदा पनि सुरु हुन सकेको छैन। नगरपालिकाभित्र विभिन्न स्थानमा निर्माण हुने सडकको काम सुरु हुन नसक्दा आवातजावतमा समस्या भइरहेको छ। कोरोना प्रभाव र निर्माण सामग्री अभावका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सका प्रतिनीधि प्रकाशचन्द्र खरेलले बताए। ‘कोरोना प्रभावका कारण काम गर्न नसकिएको हो,’ उनले भने, ‘नदीजन्य पदार्थको समेत अभाव छ अब असोज पछि काम सुरु हुन्छ।’ 

गोदावरी नगरपालिकाको गेटा आँखा अस्पतालदेखि जोनापुरसम्म ५ किलोमिटर, लालपुर–गौडी एक किलोमिटर, गेटा–लालपुर ५ किलोमिटर, चौकीडाँडा–चक्लाखेत एक किलोमिटर, कथ्था उद्योग–जोनापुर एक किलोमिटर र सिर्जनानगरमा ३४ मिटर गरी १६ किलोमिटर सडक कालोपत्रे गर्ने योजना संघीय सरकारको छ। तर उक्त सडक मध्ये अधिकांश सडकमा काम नै सुरु भएको छैन।

निर्माणाधिन अवस्थामा रहेका सडकको काम ठप्प हुँदा पनि आयोजना कार्यालय उदासिन देखिएको छ। वैशाखदेखि काम बन्द गरेको निर्माण कम्पनीले अहिले नदीजन्य पदार्थको अभाव भएको भन्दै पन्छिरहेको छ। 
१६ दशमलव ५२ किलोमिटर सडक नालीसहित निर्माणका लागि गत साउनमा कालिका कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। सुरुवातमा सडकमा पर्ने भौतिक संरचना खाली नभएका कारण ढिलाई भएको बहाना बनाउदै आएको निर्माण कम्पनी अहिले नदीज्य पदार्थ अभाव भएको दाबी गर्दै छ। 

अब असोजपछि मात्रै नाली निर्माण तथा सडक कालोपत्रेको काम सुरु हुने बताइएको छ। सहरी विकास तथा भवन निर्माण विभाव संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख प्रविन शाह भन्छन्, ‘नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने भएका कारण काम रोकिएको हो। अब काम सुरु गर्ने तयारी भइरहेको छ।’

गोदावीसँगै धनगढीमा समेत क्षेत्रीय विकास आयोजना अन्तरगत निर्माण भइरहेका सडकको काम अलपत्र परेको छ। जसकाकारण आवातजावात गर्न नगरवासीलाई मुस्किल हुँदै आएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस