सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी यातायातमा असुली धन्दा मौलायो, निरोगिताको प्रमाणपत्र खुलेआम खरिदबिक्री

२०७८ भदौ २३, ०७:२४ रोशन भट्ट

धनगढीः मंगलबार विहान ११ बजेको समयमा यातायात व्यवस्था कार्यालय धनगढीमा पुग्दा सेवाग्राहीको भिड थियो। कोरोना प्रभवपछि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात कार्यालयमा दैनिक जासो भिडभाड हुने गरेको छ।

 मंगलबार सबैभन्दा बढी नयाँ लाइसेन्सका लागि फोटो खिचाउने सेवाग्राही कार्यालयमा पुगेका थिए। सोही भिडमा रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय बासुदेव कडायतको हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो। तर उनलाई उक्त प्रमाण पत्र भने डाक्टरले चेकजाँच गरेर दिएका होइनन्। यातायात अगाडिकै एक पसलले तीन सय ५० रुपैयाँमा बिक्री गरेको हो। ‘मैले डाक्टरलाई भेटेन, अगाडिकै खोकाबाट किनेर ल्याएको हुँ,’ कडायतले भने, ‘स्वास्थ्य परीक्षण गरेर दिनुपर्ने हो, मनपरी शुल्क असुलेर पनि स्वास्थ्य चेकजाँच भएको छैन।’ 

कडायत जस्तै लाइसेन्सका लागि फोटो खिचाउन यातायात कार्यालयमा पुगेका रामबहादुर मल्लले पनि निरोगिताको प्रमाणपत्र सहजै पाए। मल्ल पनि कार्यालय अगाडिकै पसलबाट साग तरकारी किने जस्तै निरोगिताको प्रमाण पत्र खरिद गरेर फोटो खिच्ने लाइनमा थिए। कर्मचारीकै मिलेमतोमा कुनै एक डाक्टरको नाम र छाप राखेर हचुवाको भरमा प्रमाणपत्र उपलब्ध गराउने परिपाटी देखिएको मल्ले बताए। ‘शुल्कपनि एकनासको छैन,’ उनले भने, ‘पसलैपिच्छे फरकफरक शुल्क असुलिरहेका छन्।’ यातायात कार्यालयको उदासिनताका कारण स्वास्थ्य परीक्षण नगरेरै चर्को असुली भइरहेको उनले बताए। 

यातायात व्यवस्था विभागको प्रावधान अनुसार सवारी चालक अनुमती पत्र लाइसेन्स प्राप्त गर्नका लागि शारिरिक रुपमा समेत योग्य हुनुपर्छ। उक्त प्रमाणित गर्नका लागि आवेदनकर्ताको डाक्टरले नै स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम छ। विभागले नै बनाएको नियमको धज्जी उडाउदै चिकित्सकको उपस्थितिबीना निरोगिताको प्रमाणपत्र खरिदबिक्री भइरहेको हो। उक्त प्रमणपत्र यातायात कार्यालय अगाडिका पसलबाहेक अन्य अस्पतालमा भने पाउँदैन्। अन्य अस्पतालबाट प्रमाणित गरे यातायात कार्यालयले स्वीकार नगर्ने समस्या छ। 

यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले सेवाग्राहीले बाहिरबाट नै निरोगिताको प्रमाण पत्र ल्याउने गरेको बताए। ‘यसको समाधानका लागि कार्यालयमा नै डाक्टरको दरबन्दी तोक्नुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै हाम्रो निगरानीमा आवेदनकर्ताको स्वास्थ्य परीक्षण हुन्छ।’

अहिले दैनिक सयौं सेवाग्राहीहरु नयाँ लाइसेन्सका लागि कार्यालयमा पुग्ने गरेका छन्। उनीहरुलाई निरोगिताको प्रमाणपत्र उपलब्ध गराएबापत दैनिक हजारौ रकम संकलन हुने गरेको छ। उक्त रकम प्रमाणपत्र बिक्री गर्ने पसलसँगै डाक्टर र यातायातका कर्मचारीसम्म पुग्ने गरेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस