सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको गृह जिल्लामा क्रियाशील सदस्यताबारे लफडा, सभापतिकी आमादेखि कार्यसमिति सदस्यको नाम ‘कट’

२०७८ भदौ २१, १२:०७ आशिष मल्ल

धनगढी: नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतामा भएको विवादका कारण सोमबारसम्म वडा अधिवेशन सुरु भएको छैन। आइतबार मात्रै नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको छ। 

विवादमा रहेको सदस्यताबारे केन्द्रीय छानविन समितिले आवश्यक कारबाही गरी केन्द्रीय समितिलाई बुझाएको थियो। सोही अनुसार आइतबार अबेर साँझ क्रियाशील सदस्यहरुको नाम सार्वजनिक गरिएको हो।

तर सार्वजनिक भएको नामावलीमा धेरै सदस्यहरुको नाम हटाइएपछि कांग्रेस डडेल्धुरामा थप बबन्डर निम्तिएको छ। आफूहरुले ४ तहबाट प्रमाणित गरेको नामावली हटाइएको नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले बताए। ‘सुरुमा वडा तह, त्यसपछि पालिका, त्यसपछि प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका ४ सय भन्दा बढी सदस्यको नाम हटाइएको छ’ उनले भने, ‘तर हामीले सिफारिस गर्दै नगरेको नामलाई क्रियाशिल सदस्यताको नामावलीमा समावेश गरिएको छ।’ 

नेपाली कांग्रेसका कार्यालय सचिव राम विष्टका अनुसार कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको नामावली सिफारिस गरेको थियो। जसमध्ये ४६० जनाको नाम छानविन समितिले हटाएर पठाएको छ। 

हटाइका सदस्यहरुमा जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्व जिल्ला सभापति तथा पूर्व परशुराम नगर सभापति तारी सिंह बोहरा, त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायतका छन्।

पार्टीका उपसभापति करुणाकर भट्टका अनुसार आफूहरुले नामै सिफारिस नगरेका ३१२ नयाँ सदस्यहरुको नाम माथिबाटै राखिएको छ। त्यस्तै ३ हजार १ सय ४४ नयाँ र २ हजार ५ सय ९८ पुराना गरेर गरेर केन्द्रबाट ५ हजार ७ सय ४२ जनाको नाम नामावलीमा सार्वजनिक भएको छ। उक्त कुरा एकदमै विधि विपरीत भएको उनले बताए। ‘अब आज(सोमबार) साँझ या भोलि जिल्लाभरीका वडा सभापतिलाई बोलाएर बैठक बस्छौ। सोही बैठकबाट यो अन्याय सहेर जाने या त्यसका विरुद्धमा लड्ने भनेर निर्णय हुन्छ’ उपसभापति भट्टले भने। 

डडेल्धुरामा पार्टी सभापति देउवाकै २ उपगुट छन्। १४औँ महाधिवेशनमा जिल्ला सभापतिका लागि पार्टीका पूर्व सभापति रघुवर भट्ले नेतृत्व गरिरहेको एउटा गुटको तर्फबाट परशुराम नगरपालिकाका मेयर समेत रहेका भीमबहादुर साउँदलाई अगाडि सारिएको छ। त्यस्तै अर्को गुट पार्टी सभापति कर्णबहादुर मल्लको तर्फबाट करुणाकर भट्टको नाम चर्चामा छ। त्यसैगरी २ गुटको अन्त्य गर्ने उदेश्यले बनेको तेस्रो धार ‘नेपाली कांग्रेस सुदृढीकरण अभियान’ को तर्फबाट हरिप्रसाद भट्ट पनि सभापतिको आकांक्षी रहेका छन्। 

पो पनि पढ्नुस:
देउवाकै गृह जिल्लामा कांग्रेसका ३ ‘फ्याक’, सभापति बन्ने ७ जनाको इच्छा

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस