सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका लोकेन्द्र हराएको ३३ वर्षपछि भेटिए, यसरी सम्भव भयो पारिवारिक पुनर्मिलन

२०७८ भदौ १७, ०६:१३ आशिष मल्ल

धनगढी: कैलालीका लोकुन(लोकेन्द्र) डगौरा थारु ३३ वर्षअघि रोजगारीको शिलशिलामा भारत गएका थिए। २९ वर्षीय उमेरमा हालको जानकी गाउँपालिका–७ टिकलीगढबाट उनी भारतको सिम्ला गएका थिए।  तर त्यहाँ गइसकेपछि उनी सम्पर्कविहीन बने। परिवारले उनलाई खोज्ने धेरै प्रयास गर्यो। उनको अत्तोपत्तो लाग्न सकेन। कहिँकतै फेला नपरेपछि परिवारले उनीसँग भेट हुने आशा मारिसकेका थिए। 

भनिन्छ १२ वर्षमा खोला फर्किन्छ तर लोकुनको सवालमा उक्त खोला ३३ वर्षपछि फर्कियो। यहि भदौ ९ गते भारतको बिहारस्थित गयामा उनलाई भारतीय नागरिक संदिप यादवले फेला पारे। संदिपले डगौरालाई सोधपुछ गरेर आफ्नो घरमा लगे। तर कैलाली घर बताउने डगौरा १० गते उनको घरबाट भागे। खोजी गर्दा पुनः संदिपले आफ्नो घरमा लगेर राखे। आफ्नो घर नेपाल नै भएको बताएपछि संदिपले नेपाल प्रहरीमा सम्पर्क गरे।

त्यसपछि नेपालको तर्फबाट प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भारतीय पक्षसँग समन्वय गरी उद्दार गर्न आग्रह गरेका थिए। उक्त जानकारी पछि कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले सन्दिप यादवमार्फत लोकुन डगौरा थारुसँग सम्पर्क(भिडियोकल) गरेका थिए। 

लोकुन डगौरा थारु सबै कुरा बिर्सिसकेका थिए। तर उनले प्रहरी उपरीक्षक अधिकारीसँग आफ्नो घर टीकापुरको मनुवा आसपास हो सम्म भनेका थिए। उक्त कुराकानीपछि कैलाली प्रहरीले टोली परिचालन गरी उनका आफ्न्त पत्ता लगाउने प्रयास गर्‍याे। 

अन्ततः उनको घर पत्ता लाग्यो। ठेगाना र आफन्त फेला परेपछि लोकुन डगौरालाई भारतीय प्रहरी र संदिप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय, पर्सामा झिकाइयो। 

प्रहरी कार्यालय पर्साबाट पनि लोकुनका छोरा र प्रहरी टोली पठाएर कैलालीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। जिल्ला आइपुगेपछि बिहीबार लोकुको परिवारसँग पुनर्मिलन गराइएको प्रहरी नायव विष्टले बताए।

हाल लोकुनका छोरा रामबहादुर ३८ वर्षका भए। आफ्ना बुवासँग ३३ वर्षपश्चात भेट भएपछि उनीसँगै सबै परिवार हर्षित बनेको छ। लोकुन भने केही बोल्न सक्ने अवस्थामा छैनन्। ६२ वर्ष पुगेका उनी बस् मौन बनेर परिवारका सदस्यलाई हेरिरहेका छन्।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस